पार्टी विधि र नियमसम्मत तरिकाले चल्न सकेन: सिंह

७ आश्विन २०७४, शनिबार १०:०८

काठमाडौँ, ७ असोज । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस प्रजातान्त्रिक मूल्य र मान्यताअनुरुप चल्नु पर्ने बताउनुभएको छ ।
नेपाली काँग्रेस काठमाडौँ जिल्ला समितिले विजयादशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा नेता सिंहले पार्टी विधिसम्मत र नियमसम्मत तरिकाले चल्न नसकेको भन्दै गुनासो गर्नु भयो ।

पार्टीलाई सुधार गर्नका लागि व्यक्ति भन्दा पनि पार्टीको मल्य मान्यता र आदर्शलाई अगाडि बढाउनु जरुरी रहेको उहाँको भनाइ थियो ।
काँग्रेस केन्द्रीय सदस्य ध्यानगोविन्द रञ्जितले काँग्रेसले गरेका राम्रा काम आम जनतामाझ लगेर जनताको मन जित्नुपर्ने बेला आएको बताउनुभयो ।

नेपाली काँग्रेस काठमाडौँका सभापति सवुज बानियाँले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवार तय गर्न केन्द्रबाट निर्देशन जारी भइसकेको भन्दै सबै वडा तथा क्षेत्रले राम्रो उम्मेदवारलाई छनोट गरी जिल्ला शाखामा पठाउन सबैलाई आग्रह गर्नुभयो ।

काँग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले यो मेरो वा यो तेरो मान्छे भन्दा पनि काँग्रेसको मान्छे बनेर निर्वाचनमा गए मात्र काँग्रेसले जित हासिल गर्नसक्ने बताउनुभयो ।

यसैगरी, तराईमा आएको बाढी पीडितलाई सहयोग गर्नका लागि काठमाडौँ काँग्रेसले संकलन गरेको रु पाँच लाख ५५ हजार ५५५ काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई प्रदान गरिएको थियो ।