‘गरिबले उम्मेदवार बन्ने स्थिति छैन’ : मन्त्री पोखरेल

४ आश्विन २०७४, बुधबार ०१:१९

असोज ३, काठमाडौँ । चुनावमा गरिबले उम्मेदवार बन्न सक्ने स्थिति नभएको स्वास्थ्य मन्त्री गिरिराजमणि पोखेरले बताएका छन् । नेकपा (माओवादी केन्द्र) खोटाङ काठमाडौँ सम्पर्क समितिले राजधानीमा गरेको चुनावी अभियान तथा चियापान कार्यक्रममा बोल्दै मन्त्री पोखेरेलले सो बताएका हुन् ।


‘गरिबहरूले उम्मेदवार बन्ने स्थितिहरू छैन’, भर्खरै मधेसको चुनावबाट फर्केको स्मरण गर्दै उनले भने, ‘खर्च गर्न सक्ने खाल्का मान्छेहरूलाई ल्याएर टिकट दिनुपर्ने गतिविधितिर स्थिति जानेवाला छ ।’ यसले ‘उपभोक्तावाद र पैसाको खेलो’ तिर मानिसलाई लैजाने उनको ठहर छ ।

कार्यक्रममा प्रशिक्षणात्मक मन्तव्य राख्दै नेकपा (माओवादी केन्द्र) का सचिवालय सदस्य टंक राईले सरकार मन्त्री उत्पादन गर्ने कारखाना जस्तो भएको बताए । उनले भने ‘सरकार मन्त्री उत्पादन गर्ने फ्याक्ट्री जस्तो भएको छ ।’ उनले स्थाथी सरकारमा जोड दिदै एक सरकारले कम्तिमा निर्बाध रूपमा पाँच वर्ष काम गर्न पाउनुपर्ने बताए ।

कार्यक्रममा केन्द्रीय सल्लाहकार सदस्य जसराज किराती तथा डा. धनप्रसाद सुवेदी लगायतकाले पार्टीको रूपान्तरणमा जोड दिएका थिए ।