सार्क शिखर सम्मेलन सम्बन्धमा सकारात्मक छलफल

६ आश्विन २०७४, शुक्रबार ०७:२०

असोज ६, न्यूयोर्क । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को आगामी शिखर सम्मेलन आयोजना गर्ने सम्बन्धमा सार्कको मन्त्रिस्तरीय बैठकमा सकारात्मक छलफल भएको छ ।

संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिन सहभागी भएका सार्क मुलुकका विदेश मामिलासम्बन्धी मन्त्रीहरुको बिहीबार भएको बैठकमा आगामी शिखर सम्मेलन गर्ने सम्बन्धमा सौहार्दरुपमा छलफल भएको छ ।

नेपालको तर्फबाट आयोजना गरिएको साइडलाइन बैठकमा श्रीलंकाबाहेक सबै देशका विदेश मन्त्रीको सहभागिता रहेको उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री कृष्णबहादुर महराले जानकारी दिए ।

 

सार्कको १८औँ शिखर सम्मेलन नेपालमा सम्पन्न भएपछि १९औँ शिखर सम्मेलन पाकिस्तानमा गर्ने भनिए पनि त्यसबारेमा हालसम्म कुनै प्रगति भएको छैन । यस परिवेशमा सार्कका विदेश मन्त्रीहरुको बैठक बस्नु आफैँमा सकारात्मक हो ।

परराष्ट्र सचिव शंकरदास बैरागीले बैठकमा यसअघिको सार्क शिखर सम्मेलनको निर्णयको अवस्थाका बारेमा छलफल भएको बताउँदै निर्णय कार्यान्वयनका लागि यसअघिको कुन देशले के गर्ने भन्ने विषयका बारेमा सदस्य मुुलुकले विवरण प्रस्तुत गरेको जानकारी दिए ।