सरकारलाई मन्त्रिपरिषद् विस्तारको निर्णय सच्याऊन निर्वाचन आयोगको अग्राह

३ आश्विन २०७४, मंगलवार ०९:१६

असोज ३, काठमाडौं । निर्वाचन आयोगले मन्त्रिपरिषद विस्तारको निर्णय सच्याउन सरकारलाई आग्रह गरेको छ।

 

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबारमात्रै राप्रपा प्रजातान्त्रिकका दुई जनालाई राज्यमन्त्रीमा नियुक्त गरेपछि मंगलबार निर्वाचन आयोगले मन्त्रिपरिषद् विस्तारको निर्णय सच्याउन आग्रह गरेको हो। आयोगले मन्त्रिपरिषद विस्तार निर्वाचन आचारसंहिता प्रतिकुल भएको ठहर गरेको छ। ‘मन्त्रिपरिषद विस्तार निर्वाचन आचारसंहिता प्रतिकूल भएकोले मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय अविलम्ब सच्याउन आयोगले सरकारसँग आग्रह गरेको छ । सरकारको असोज २ गते दुई राज्यमन्त्री थप गरी मन्त्रिपरिषद् विस्तार गर्ने कार्यले निर्वाचनको स्वच्छता, मर्यादा र स्वच्छ प्रतिस्पर्धा कुण्ठित हुने आयोगले ठहर गरेको आयोगका प्रवक्ता नवराज ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

 

आयोगले आचारसंहिता जारी भइसकेपछि भएको सरकारको मन्त्रिपरिषद विस्तार गर्ने निर्णयबाट निर्वाचनको स्वच्छता, मर्यादा र स्वच्छ प्रतिस्पर्धा कुण्ठित हुने, राज्यका संवैधानिक निकायबीच संवैधानिक दायित्वबमोजिमका शक्ति सन्तुलन तथा पृथकीकरणको सिद्धान्तको अवमूल्यन हुने ठहर गरेको छ। निर्वाचन आयोगले भदौं २६ गते पाँचौ पटक मन्त्रिपरिषद विस्तार गर्दा पनि आपत्ति जनाएको थियो। त्यतिबेला प्रधानमन्त्री देउवाले राप्रपा प्रजातान्त्रिकका तीन मन्त्रीमा नियुक्त गर्दै सरकारमा सहभागी गराएका थिए।