रामेछापका स्थानीय विकास अधिकारी पन्तमाथि मोबिल छ्यापियो

२ आश्विन २०७४, सोमबार १४:०६

असोज २, रामेछाप। रामेछापका स्थानीय विकास अधिकारी दिनेशराज पन्तमाथि नेक्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले मोबिल छ्यापेका छन् ।

 

सो पार्टीका एक कार्यकर्ताले सोमबार अधिकारी पन्तकै कार्यकक्षमा गएर उनको शरीरभरि कालो मोबिल खन्याएका हुन् । घटनापछि स्थानीय विकास अधिकारी पन्तले पत्रकार सम्मेलन गरी अपरिचित व्यक्तिले आफ्नो कार्यकक्षमै आएर मोबिल खन्याएको भन्दै उक्त व्यक्ति उपर तत्काल कारबाहीको माग गरेका छन् । उनले आफू काम गरिरहेको बेलामा एउटा रजिस्टर लिएर एक अपरिचित व्यक्ति आएको र उसको रजिस्टर हेर्दै गर्दा सो व्यक्तिले आफूमाथि कालो मोबिल खन्याएर भागेको बताए ।

 

यसैबीच, जिल्ला समन्वय समिति रामेछापले घटनाको घोर निन्दा र भर्त्सना गरेको छ । घटनाको अनुसन्धान गरी दोषीमाथि कारबाही अघि बढाउन जिल्ला समन्वय समितिले सम्बद्ध पक्षको ध्यानाकर्षणसमेत गराएको छ । उता, नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति रामेछापले विज्ञप्तिमार्फत् घटनाको जिम्मेवारी लिएको छ । सो पार्टीले सोमबार एक विज्ञप्ति प्रकाशित गरी स्थानीय विकास अधिकारी पन्तले राजनीतिक दलको मिलेमतोमा विभिन्न समयमा आर्थिक चलखेल गरेको आरोप लगाउँदै कारबाहीस्वरुप मोबिल खन्याएको जनाएको छ ।