मुलुकलाई समृद्धको दिशातिर अगाडि बढाउनुपर्छ : मन्त्री बस्नेत

२८ भाद्र २०७४, बुधबार १४:१२

भदौ २८, काभ्रे । सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले मुलुकले प्राप्त गरेको संघीय गणतन्त्रात्मक समावेशी संविधानको जगमा टेकेर देशलाई समृद्धतर्फ अगाडि बढाउनुपर्ने बताएका छन् ।

बनेपा ब्वाइज क्लबले आयोजना गरेको बनेपा महोत्सवको उद्घाटन गर्दै मन्त्री बस्नेतले अहिलेको संविधानलाई कार्यान्वयन गर्ने सिलसिलामा स्थानीय तहको दुई चरणको निर्वाचन सम्पन्न भएको उल्लेख गरे । पहिलो र दोस्रो चरणमा भाग नलिएका राजनीतिक दल पनि भाग लिन थालेकामा उनले खुशी व्यक्त गरे । मन्त्री बस्नेतले भने, “सबै दल निर्वाचनमा सहभागी भइसकेकाले अब राजनीतिक एजेण्डाको रुपमा हामीले प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई सिध्याएर मुलुकलाई समृद्धतिर लैजानु पर्नेछ ।”

सोही कार्यक्रममा मन्त्री बस्नेतले काभ्रेपलाञ्चोक जिल्लालाई ३ नं प्रदेशको राजधानी बनाउने कुरा अगाडि बढिसकेको उल्लेख गर्दै त्यसको लागि काभ्रेका जनप्रतिनिधि र राजनीतिक दललगायत सबै मिलेर अगाडि बढ्नुपर्ने बताए । यसैबीच मन्त्री बस्नेतले यातायात व्यवसायीले उठाउँदै आएको गाडीमा सामान राख्न छतको व्यवस्था गर्न गरिएको आग्रहलाई सरकारले स्वीकार गरेको बताएका छन् ।

चाडपर्वको बेला भएकाले र यातायात व्यवसायीहरुले पनि यात्रुको सामान राख्न पाउने व्यवस्थाको लागि गाडीको छत राख्न पाउनुपर्ने कुरा उठाएका कारण सरकारले त्यसलाई सम्बोधन गरेको उनले बताए । कार्यक्रममा उद्योग राज्यमन्त्री रेशम लामाले बनेपाको पहिचानलाई संरक्षण गर्नको लागि युवा व्यवसायीले भूमिका खेल्नुपर्ने बताए । “काभ्रेपलाञ्चोक जिल्ला धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले पनि सभ्यता बोकेको जिल्ला भएकाले यसको विकासको लागि अघि बढ्न जरुरी रहेको उनले भने ।