भीमेश्वरमा क्षमापूजाका लागि राष्ट्रपतिद्धारा सामग्री प्रदान

११ आश्विन २०७४, बुधबार ०८:३८

काठमाडौँ, ११ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले दोलखाको भीमेश्वर मन्दिरमा क्षमा पूजाका लागि आज सामग्री पठाउनुभएको छ । उक्त ऐतिहासिक मन्दिरको शीलामा हिज मंगलबार पसिना आएपछि राष्ट्रप्रमुखले क्षमा पूजा गर्ने मान्यताअनुसार राष्ट्रपति भण्डारीले पूजा सामग्री पठाउनुभएको हो ।

दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटुवाल, मन्दिरका पूजारी र व्यवस्थापन समितिका पदाधिकारीसहितका प्रतिनिधि आज शीतलनिवास आई क्षमा पूजा गर्न आग्रह गर्नुभएको उहाँका सञ्चार विज्ञ माधव शर्माले जानकारी दिनुभयो ।

प्रतिनिधिले शीलाको पसिना पुछेको कपास प्रसादस्वरुप राष्ट्रपतिलाई दिएका थिए । यसअघि २०७० सालमा पनि सो शीलाबाट पसिना आएपछि तत्कालीन राष्ट्रपति डा रामवरण यादवले क्षमा पूजा गर्नुभएको थियो ।