बोपुङमा साविकको वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न

१३ आश्विन २०७४, शुक्रबार १३:५२

१३ असोज खोटाङ । साविकको बोपुङ गाविस सायातेनमा यही असोज १० गते साविकको वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको छ । दशैँ तथा शुभ दीपावलीको अवसरमा सेभेन स्टार युथ क्लब र बि नाइन स्पोट्र्स क्लबको संयुक्त आयोजनामा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।

सेभेन स्टार युथ क्लबको भलिबल खेल मैदान तुम्पुराङमा असोज ९ देखि १० गते दुई दिनसम्म चलेको सो प्रतियोगिताको फाइनलमा साविकको ५ नम्बर वडाले ७ नम्बर वडालाई २५–१८, २५–१८, १७–२५ र २५–२० को सेटमा हराउँदै विजयी भएको थियो । हारसँगै आयोजक समेत रहेको ७ नम्बर वडाले दोस्रो स्थानमै चित्त बुझाउनु प¥यो । त्यस्तै १ नम्बर वडा तेस्रो भएको थियो । विजयी टिमले नगद रु. ७ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त ग¥यो । दोस्रो हुने टिमले नगद रु. ५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त ग¥यो भने तेस्रो हुने टिमले पनि नगद रु. ३ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त ग¥यो । त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी ९ नम्बर वडाका विज्ञान राई घोषित भए ।

 

प्रतियोगितालाई हाल विभिन्न मुलुकमा रहेका सो क्षेत्रका युवाहरूले आर्थिक सहयोग गरेका बि नाइन स्पोट्र्स् क्लबका अध्यक्ष मिनकुमार राईले जानकारी दिए । सहयोग गर्नेहरूमा नेपालबाट बसन्त राई, दक्षिण कोरियाबाट युबक राई, कतारबाट अमृत पुमा र दिनेश बान्तावा तथा साउदीबाट राजेन्द्र राई रहेको उनले जानकारी दिए । त्यस्तै दुबै क्लबका खेलाडीलाई मस्तहाङ राईले जर्सी लगायतका खेलकुद सामग्री उपलब्ध गराएका थिए ।