बाढी प्रभावित क्षेत्रमा ६ महिनाभित्र घर बनाउन गृहमन्त्री शर्माद्वारा मातहतका निकायहरुलाई निर्देशन

२८ भाद्र २०७४, बुधबार १४:३१

भदौ २८, काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले ६ महिनाभित्र बाढी प्रभावित क्षेत्रमा घर बनाउने गरी योजना निर्माण गर्न मातहतका निकायहरुलाई निर्देशन दिएका छन् ।

 

बुधबार गृह मन्त्रालयमा आयोजित केन्द्रीय दैवी प्रकोप उद्धार समितिको बैठकमा बोल्दै मन्त्री शर्माले उक्त निर्देशन दिएका हुन् । तथ्यांक संकलन गरेर एकमुस्ट रकम निकासा गर्ने व्यवस्था मिलाएर कम्तीमा ६ महिनामा बाढी प्रभावितलाई पुनःस्थापना गर्ने गरी योजना बनाउनोस्’–मन्त्री शर्माले भने । उनले बाढीका कारण विस्थापितहरुको तथ्यांक तयार गर्न निर्देशन दिँदै अर्को वर्षामा बाढी आउँदा आवश्यक उद्धार सामग्री अहिले नै किन्नुपर्ने बताए ।

 

मन्त्री शर्माको निर्देशनपछि केन्द्रीय दैवी प्रकोप उद्धार समितिले स्याउला, खरलगायतका सामग्रीले छाएको घरको छानोलाई जस्ताले छाउनका लागि दुई बन्डल जस्तापाता वितरण गर्ने निर्णयसमेत गरेको छ । यस्तै, बाढी आएको बेला राहत र उद्धारमा विशेष भूमिका खेल्ने संघ–संस्थालाई पुरस्कृत गर्ने निर्णयसमेत गरेको छ । बैठकमा बोल्दै गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठले नीतिगत कमजोरीका कारण विपद्सम्बन्धी कार्य युद्धस्तरमा हुन नसकेको बताए । बैठकमा सरोकारवाला मन्त्रालयका सचिवहरुले आ–आफ्नो मन्त्रालय मातहतको क्षेत्रमा भएको क्षतिको विवरण प्रस्तुत् गरेका थिए ।