प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, भ्रमण उपलब्धिमूलक

काठमाडौँ, १२ असोज । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिई आज साँझ स्वदेश फर्कनुभएको छ ।
प्रधानमन्त्री देउवा संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा भएको महासभा सामेल भई ओमनको औपचारिक भ्रमण समेत पुरा गरी आज अबुधावी हुँदै स्वदेश फर्कनुभएको हो ।

स्वदेश फर्केपछि विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले आफूले महासभालाई सम्बोधनका क्रममा नेपालको नयाँ संविधान, हालै सम्पन्न स्थानीय तहको निर्वाचनलगायतका विषयमा अन्तर्राष्ट्रिय समुदायलाई अवगत गराएको, नेपाल राष्ट्रसंघको उद्देश्यहरु परिपूर्तिमा प्रतिबद्ध रहेको, विश्व शान्ति र आतंकवाद नियन्त्रण गर्न ऐक्यबद्ध भएको बताउनुयभो ।

यसैगरी उहाँले राष्ट्रसंघमा साना मुलुकको भूमिकाका विषयमा पनि आफूले परिचर्चा गरेको जनाउँदै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहँदा सार्क राष्ट्र र विभिन्न मुलुकका राष्ट्रप्रमुख तथा समकक्षीसँग गरेको भेटवार्ता उपलब्धिमूलक रहेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवाले नेपाल सार्कको अध्यक्ष मुलुकसमेत रहेको नाताले १९ औँ सार्क शिखर सम्मेलन गराउने विषयमा त्यहाँ उपलब्ध सार्क मुलुकका परराष्ट्र मन्त्रीहरुको अनौपचारिक बैठक समेत भएको बताउनुभयो ।

राष्ट्र संघको शान्ति स्थापनाको लक्ष्यमा शान्ति सेनाको भूमिका थप प्रभावकारी बनाउन तथा काभ्रेको पाँचखालस्थित सैनिक तालीम केन्द्रलाई क्षमता वृद्धि गर्न कुराकानी भएको उहाँले बताउनुभयो । प्रधानमन्त्री देउवाले आफ्नो ओमानको औपचारिक भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध थप प्रगाढ भएको र त्यहाँस्थित नेपाली श्रमिकहरुको श्रम शोषण अन्त्यका लागि विशेष पहल गरिने बताउनुभयो ।

प्रधानमन्त्री महासभामा भागलिनका लागि यही असोज ३ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।


प्रकाशित | २०७४ आश्विन १२ प्रकाशित १६:५७

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ