प्रदेश नम्बर २ का लागि तीन हजार ५७८ मतदान केन्द्रमा कर्मचारी सामग्री पुग्दै, सुरक्षा कडा

भदौ २०, काठमाडौं ।  प्रदेश नम्बरका २ मा निर्वाचनको सबै तयारी लगभग पुरा भएको छ । निर्वाचन आयोगले आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनका आज सबै मतदान केन्द्रका कर्मचारी खटाउँदैछ ।

आजबाट मतदान केन्द्रको रौनक बढ्नेछ । प्रदेश नम्बर २ का लागि तीन हजार ५७८ मतदान केन्द्र निर्धारण गरेको छ । प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा हुने उक्त निर्वाचनका लागि दुई हजार १६६ मतदान स्थलसमेत निर्धारण भएको निर्वाचन आयोगले जनाएको छ।

आज कर्मचारीसँगै निर्वाचन सामग्री पनि पुग्नेछन् । मतदान केन्द्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदेश नं २ अन्तर्गत सबैभन्दा बढी २० स्थानीय तह सर्लाहीमा कायम गरिएको छ भने सप्तरी, धनुषा र रौतहटमा १८–१८ रहेका छन् ।

सिरहामा १७, बारा १६, महोत्तरी १५ र पर्सा जिल्लामा १८ वटा स्थानीय तहको सङ्ख्या कायम रहेको निर्वाचन आयोगले जनाएको छ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा २६ लाख ६४ हजार ९५० मतदातालाई मतदान गर्ने अधिकार रहेको छ ।

प्रदेश नं २ मा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका रहेका छन् । आगामी स्थानीय तहको निर्वाचनबाट प्रमुख एवं अध्यक्ष १३६, उपप्रमुख एवं उपाध्यक्ष १३६, वडाध्यक्ष एक हजार २७१ तथा पाँच हजार ८४ वडा सदस्यसहित कूल ६ हजार ६२७ जनप्रतिनिधिको चयन हुनेछ ।


प्रकाशित | २०७४ भाद्र २९ प्रकाशित ०३:४८

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ