पल्सर स्पोर्टस अवार्ड आज राजधानीमा हुदै

२६ भाद्र २०७४, सोमबार ०३:०७
breaking news from kathmandu nepal, sport news from kathmandu nepal, pulser award program 200171

भदौ २६, काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्टस् अवार्ड–२०७३ अन्तर्गत विभिन्न आठ विधामा उत्कृष्ट हुने खेलाडी एवं प्रशिक्षकलाई आज (सोमबार) सम्मान गरिने भएको छ ।

अवार्डमा उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपुल्स च्वाइस, पारा एथलिट, स्पेशल अवार्ड र लाइफटाइम एचिभमेन्ट गरी आठ विधामा उत्कृष्ट घोषित हुनेलाई कमलादीस्थित प्रज्ञा भवनमा सम्मान गरिनेछ ।

आठ विधामध्ये लाइफटाइम एचिभमेन्ट अवार्ड, स्पेसल अवार्ड र पारा एथलिट अवार्डको घोषणा सोमबार नै हुनेछ भने वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा प्रशिक्षक विधाको मनोनयमा पर्ने नाम यसअघि नै सार्वजनिक गरिसकेको छ ।

यसपटकको मनोयनमा आठ खेलका २० जनामध्ये सबैभन्दा बढी फुटबलबाट पाँचजना खेलाडी मनोनयमा परेका छन् । राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ वर्षको उत्कृष्ट पुरुष, मुख्य प्रशिक्षक ग्यातुको कोजी, थ्रीस्टार क्लबका मेघराज केसी उत्कृष्ट प्रशिक्षक, फुटबल खेलाडी सावित्रा भण्डारी र अनन्त तामाङ वर्षको उत्कृष्ट युवा खेलाडीको मनोनयनमा परेका छन् ।

एथलेटिक्सबाट चारजना खेलाडी मनोनयमा परेका छन् । ब्याडमिन्टन र क्रिकेटबाट तीन÷तीन जना मनोनयनमा परेका छन् । राष्ट्रिय खेल भलिबलबाट दुई तथा जुडो, भारोत्तोलन र आर्चरीबाट एक÷एकजना मनोनयनमा परेका छन् ।

एथलेटिक्सतर्फ कान्छिमाया कोजु र सरस्वती भट्टराई उत्कृष्ट महिला खेलाडी तथा सोमबहादुर कुमाल वर्षको उत्कृष्ट पुरुष खेलाडी र पुष्पराज ओझा उत्कृष्ट प्रशिक्षकको मनोनयनमा परेका छन् । ब्याडमिन्टनतर्फ दिदीभाइ नङसल तामाङ र रत्नजीत तामाङ उत्कृष्ट महिला र पुरुषको मनोनयमा परेका छन् भने सोही खेलको प्रशिक्षक किरण थापा प्रशिक्षकको मनोनयनमा परेका छन् ।

राष्ट्रिय क्रिकेट टोलीका सदस्य शरद भेषवाकर उत्कृष्ट पुरुष, दीपेन्द्रसिंह ऐरी उत्कृष्ट युवा र जगत टमाटा उत्कृष्ट प्रशिक्षकको मनोनयनमा परेका छन् । भलिबलतर्फ प्रतिभा माली उत्कृष्ट युवा र मानबहादुर श्रेष्ठ उत्कृष्ट पुरुषको मनोयनमा परेका छन् ।

जुडोकी मनिता श्रेष्ठ प्रधान र भारोत्तोलनकी कमला श्रेष्ठ उत्कृष्ट युवा तथा आर्चरीकी ज्ञानु अवाले उत्कृष्ट महिलाको मनोनयनमा परेका छन् । वर्षका उत्कृष्ट पुरुष, महिला खेलाडी, प्रशिक्षक र पिपुल्स च्वाइस अवार्ड विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । यसपटकदेखि प्रशिक्षकका लागि पनि मोटरसाइकल थप गरिएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्यले जानकारी दिए ।

अन्य विधामा सफलता हात पार्नेले रु ५० हजारसहित गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् भने सबै विधाका मनोनयनमा पर्ने खेलाडी एवं प्रशिक्षकलाई पनि गिफ्ट ह्याम्पर दिइने आयोजकले जनाएको छ ।