निर्वाचन सम्पन्न भएको सन्देश दिन पाउँदा गर्वको अनुभव: आयोग

१३ आश्विन २०७४, शुक्रबार १५:५१

काठमाडौँ, १३ असोज । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले नयाँ संघीय संरचनाअनुसार सात प्रदेशका ७७ जिल्लामा रहेका कुल ७५३ वटा स्थानीय तहको निर्वाचन सम्पन्न भएको सन्देश नेपाली जनतालाई दिन पाउँदा निर्वाचन आयोग गर्वको अनुभव गरेको बताउनु भएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले विजयादशमीका अवसर पारेर आज जारी गर्नुभएको सन्देशमा उहाँले भर्खरै सकिएको निर्वाचनलाई असल र सफल लोकतान्त्रिक अभ्यासका रूपमा लिनुपर्ने बताउनुभयो । तीन चरणमा भएको निर्वाचनबाट नेपालको संविधानअनुरुप स्थानीय तहका गाउँपालिका र नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाको प्रमुख, उपप्रमुख र वडाध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्यको चयन भइसकेको छ भन्नुभयो ।

स्थानीय तह निर्वाचनबाट महिला, दलित र अल्पसङ्ख्यकको नेतृत्व विकासमा महत्वपूर्ण सहयोग पुगेको र महिलालगायत पिछडिएका वर्गका नागरिकको सशक्तीकरणका लागि मार्ग प्रशस्त भएको बताउँदै उहाँले भन्नुभयो, “प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न गर्न हामी कार्यरत छौँ । त्यसको लगत्तै राष्ट्रियसभा सदस्यको निर्वाचन तथा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गराउनुपर्ने दायित्वसमेत आयोगसामु छ ।”

प्रमुख निर्वाचन आयुक्त डा यादवले देश तथा विदेशमा रहे बसेका सम्पूर्ण नेपालीजनमा निर्वाचन आयोगका तर्फबाट सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना पनि व्यक्त गर्नुभएको छ ।