साताको सेयर कारोबारमा गिरावट, होटल र व्यापार बाहेक सबै उपसूचक घटे

३ भाद्र २०७४, शनिबार १५:१५

यो साता सेयरबजारका सबै सूचक ओरालो लागेका छन । गत साताको तुलनामा नेप्से तथा कारोबार रकम दुवैमा गिरावट आएको छ भने होटल र  व्यापार  समूहका बाहेक सबै समूहका उपसूचक समेत घटेका छन ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १७८ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २७ हजार ४६६ कारोबारबाट तीन अर्ब पाँच करोड ६७ लाख ६२ हजार रुपैयाँ बराबरका ८४ लाख ४६ हजार चार सय ६० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १९.९५ प्रतिशत कम हो ।

गत साता १६८ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार ३४ हजार ७७३ कारोबारबाट तीन अर्ब ८१ करोड ८४ लाख ६० हजार रुपैयाँ बराबरका एक करोड २१ लाख तीन हजार पाँच सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १२.३८ अंकले घटेर अन्तिम दिन १६२९.७५ अंकमा पुगेको छ ।

 

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा २.२५ अंकले घटेर ३४२.३४ अंकमा आईपुगेको छ ।

यो साता सेयरबजारमा आठ उपसूचक मध्ये होटल र व्यापार बाहेक सबै समूहका सूचक ओरालो लागेका छन । सबैभन्दा बढी उत्पादन समूहको उपसूचक १४० अंकले घटेको छ ।

यस साता कारोबार रकम (१४ करोड ४८ लाख ६० हजार रुपैयाँ) को आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (१४ लाख ९२ हजार कित्ता) को आधारमा नविल व्यालेन्स फण्ड १ अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (१४७७ वटा) को आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

यो साता पाँच कम्पनीको हकप्रद र बोनस सेयर सूचिकृत भएको छ ।