बाढीपीडितलाई दिनको ७० रुपैयाँ दिने सरकारको निर्णय

२ भाद्र २०७४, शुक्रबार १२:२६

गृहमन्त्री जनार्दन शर्माले शुक्रबार पत्रकार सम्मेलन गरी बाढी पीडितलाई खाद्यान्नका लागि दिनको ७० रुपैयाँका दरले एक महिनाको रकम एकमुष्ट उपलब्ध गराइने बताए । ‘यसरी नगद उपलब्ध गराउँदा कुहिएको चामल बाँड्ने समस्या हुँदैन’ मन्त्री शर्माले भने, ‘प्रतिब्यक्ति ७० रुपैयाँको दरले नगद दिँदा सामान्य दाल भातको समस्या हल हुने आंकलन गरेका छौं ।’

प्रभावित जिल्लाका कत्तिपय स्थानमा पसलको समस्या भएमा खाद्य संस्थानमार्फत खाद्यान्न खरिद गर्ने ब्यवस्था मिलाउने उनले बताए ।

गृह मन्त्रालयका अनुसार बाढीका कारण १३५ जनाको मृत्यु भएको छ भने ३५ बेपत्ता भएका छन् । रौतहटमा हराएका भनिएका ५ जना घर फर्किएका छन भने अन्य बेपत्ताहरुको खोजी भइरहेको गृहमन्त्री शर्माले बताए ।

विपद्को समयमा सहयोग गर्न चाहने विदेशी दातृ निकाय वा ब्यक्तिहरुलाई ‘प्रधानमन्त्री राहत उद्धार कोष’ मार्फत सहयोग गर्न आग्रह गर्दै मन्त्री शर्माले प्रभावित क्षेत्रमा राहत वितरणमा बन्देज नलगाइएको बताए ।

‘सहयोग गर्न चाहने कसैलाई रोकेको छैन, रोक्ने मनशाय पनि छैन’ गृहमन्त्री शर्माले भने, ‘राहतको दुरुपयोग नहोस् भनेर सचेतना अपनाउँदै सरकारले लिएर प्रभावित बस्तिमा वितरण गर्ने प्रणाली विकास गरेका छौं ।’

प्रभावितलाई सहयोग गर्ने नाममा नेपाल भित्र र बाहिर समेत बैंक खाता खोलिएको जानकारी प्राप्त भएको भन्दै मन्त्री शर्माले ब्यक्तिगत रुपमा कसैले खाता खोल्न नपाउने बताए । ‘प्रभावितका नाममा ब्यक्तिगत रुपमा कसैले पनि खाता खोलेको कुरा स्विकार गर्दैनौं’ उनले भने ।

ब्ाढी प्रभावित जिल्लाहरुमा आवश्यकता अनुसार त्रिपाल वितरण गरिएको उनले बताए । ‘योजनाबद्ध आवास क्षेत्र निर्माण गर्नुपर्ने आवश्यकता देखिएको छ’ उनले भने, ‘हामीले बनाएका तटबन्धहरु सामान्य बाढीले पनी बगाएको अवस्था छ । ब्यवस्थित तटबन्ध निर्माणको योजनाको अभाव देखिएको छ ।’

गृहमन्त्री शर्माले बाढी प्रभावित क्षेत्रहरुमा पुनर्निमाणको काम छिट्टै थालिने समेत बताएका छन् ।