खरायो पालनः महिनाको ५० हजार कमाउन विदेश जानु पर्दैन

१४ पुष २०७३, बिहीबार ०७:२८

धादिङका उज्ज्वल चापागाईंले वातावरणीय विज्ञानमा मास्टर्स गरेका छन् । तर, उनको दैनिकी भने खरायोको स्याहारसुसारमा बित्ने गरेको छ ।

अनलाइनखबरको टोली काठमाडौंको बलम्बुस्थित हिमालयन रेबिट फार्ममा पुग्दा चापागाईं खरायोको रेखदेखमा व्यस्त भेटिए । उनको फार्ममा चार सय ५० वटा खरायो छन् ।

आधुनिक खरायो पालन गरी सफलता प्राप्त गरेका चापागाईँसँग यसबारे बुझ्न आउनेहरुको कमी छैन । विभिन्न संघसंस्थाले खरायो पालनका लागि इच्छुक कृषक तथा युवाहरुलाई भेला गरेर चापागाईँका कुरा सुनाउने पनि गरेका छन् ।

उज्ज्वलले ५ रोपनी जग्गा भाडामा लिएर यो व्यवसायलाई नमूनाकै रुपमा अघि बढाएका छन् । राम्रै आम्दानी गरिरहेका उनले फार्ममा दुई जनालाई रोजगारी दिएका छन् । उनको खरायो फार्म अहिले धेरैको लागि अध्ययन केन्द्र बनेको छ ।