प्रदेश राजधानी पोखरा हुने पक्का : प्रदेश ४

२१ जेष्ठ २०७५, सोमबार ०७:०९

जेठ २१, काठमाडौं ।

प्रदेश ४ को संसद बैठकमा सोमबार प्रदेश राजधानी तथा नामांकनसम्बन्धी प्रतिवेशन पेश हुँदैछ । प्रदेश राजधानी निर्विकल्प पोखरा बनेको छ । नामका सम्बन्धमा भने अझै एक हुन सकेको छैन ।

प्रदेशको नाममा सर्वसम्मत नहुने भएपछि जिल्ला जिल्लाबाट लिइएको सुझाव र दलको धारणाअनुसार धेरै मत पाएको नामलाई क्रमश एक नम्बर, दुई नम्बर गरेर पेश हुँदैछ । प्रदेश राजधानी तथा नामांकन समितिले पेश गर्न लागेको प्रतिवेदनमा प्रदेशको नाम एक नम्बरमा गण्डकी रहेको एक नेताले बताए ।

तर गुरुङ र मगर समुदायले भने तमुवान-मगरात नाम हुनुपर्ने भन्दै सडकमै उत्रिएका छन् । तमुवान-मगरात संघर्ष समितिले आइतबार प्रदर्शन नै गरेको थियो भने सोमबार पनि प्रदर्शन तथा मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेको छ । आइतबार समितिले उपसभामुख तथा संसदीय दलका नेतालाई ज्ञापनपत्र बुझाएका थिए ।

उनीहरुले गुरुङ जातिको पहिचानलाई लत्याएर अर्कै नाम राख्न लागेको भन्दै आपत्ति जनाइरहेका छन् । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कुनै पनि जातीय आधारमा नाम राख्न नहुने बताएका छन् ।

तमुवान-मगरात संघर्ष समितिले भने प्रदेशको नामांकनमा तमुहरुको आदिम थलो र इतिहासलाई लत्याए आन्दोलनको चेतावनी दिइरहेका दिएका छन् ।

विश्व हिन्दु महासंघले भने कुनै पनि हालतमा जातीय नामाकरण गर्नु नहुने भन्दै आन्दोलनको चेतावनी दिएको छ । ११ जिल्ला पुगेर सुझाव संकलन गरेको समितिलाई अधिकांश दलका सांसदले भने प्रदेशको नाम गण्डकी राख्न सुझाव दिएका छन् ।

संसद बैठक ११ जिल्लाको सुझाव र दलको धारणाअनुसार सबैभन्दा बढी मत परेको नामअनुसार पहिलो, दोस्रो गरेर प्रस्तुत गरिने नामांकन समितिका सदस्य विन्दुकुमार थापाले जानकारी दिए । एक नम्बरमा गण्डकी नाम छ भने दोस्रोमा तमुवान-मगरात गरी क्रमश गोरखा, गण्डक, अन्नपूर्ण लगायत छन् ।

चैत १२ गते गठित समितिले दलको सुझाव नआएकै कारण प्रतिवेदन बुझाउन नपाएको भन्दै पछिल्लो पटक एक महिनाका लागि समय थप गरिएको थियो । थप समय पनि सकिन लागेपछि सोमबार संसदमा प्रतिवेदन पेश गरिने समिति सदस्य धनञ्जय दवाडीले बताए । समितिले संसदमा प्रतिवेदन पेश गरेपछि बहुमतको आधारमा नामको टुंगो लाग्नेछ ।