कास्कीको बिरेठाँटीमा साहसिक खेल क्यानोनिङ प्रतियोगिता हुने

२० चैत्र २०७४, मंगलवार १०:१९

चैत २०, काठमाडौं ।

कास्कीको बिरेठाँटीमा साहसिक खेल क्यानोनिङ प्रतियोगिता हुने भएको छ । अन्नपूर्ण गाउँपालिका वडानम्बर ८ स्थित बिरेठाँटी छहरामा यहि चैत २९ गतेदेखि बैशाख १ गतेसम्म ‘क्यानोनिङ प्रतियोगिता २०७५’ हुने भएको हो ।

क्यानोनिङको माध्यमबाट खेल पर्यटनको विकास र विस्तार गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको आयोजक बिरेठाँटी क्यानोनिङ, रेष्टुरेण्ट एण्ड बारले जनाएको छ ।

नेपालका विभिन्न ठाउँमा रहेका क्यानोनिङ गाइडहरुले प्रतियोगितामा भाग लिनेछन् । प्रतियोगितामा ५० भन्दा बढी क्यानोनिङ गाइडहरु सहभागि हुने कार्यक्रम संयोजक पूर्ण कोने गुरुङले बताए ।

प्रतियोगिता अन्तर्गत पहिलो चरणमा उत्कृष्ट १०, दोश्रो चरणमा उत्कृष्ट ५ छनौट गरेर अन्तिम प्रतिष्पर्धाबाट बिजेता छनौट गरिने आयोजकले जनाएको छ । प्रतियोगीले क्यानोनिङ गर्दा लगाएको समयलाई आधार बनाएर बिजेता छनौट गर्ने संयोजक गुरुङले बताए ।

क्यानोनिङ प्रतियोगिताको अवसरमा राष्ट्रिय कलाकारहरुको लाइभ कन्सर्ट, पुल डान्स पार्टी र स्थानिय कलाकारहरुबाट पञ्चेबाजासहित सांस्कृतिक कार्यक्रम रहने सहआयोजक पोखरा क्यानोनिङ प्रालि कास्कीका सञ्चालक राम गुरुङले बताए ।

प्रतियोगिताको बिजेताले नगद ३० हजार, द्वितीयले २० हजार र तृतीयले १० हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिता सञ्चालनका लागि करीब ५ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ ।

प्रतियोगिताको मुख्य प्रायोजकमा चीनबहादुर प्यारी प्रतिष्ठान छ ।