समावेशिताको अवस्था अध्ययन गर्न १३ करोड हिनामिना

२८ भाद्र २०७५, बिहीबार ०८:२२

काठमाडौ । नेपालमा समावेशिताको अवस्था अध्ययन गर्न भन्दै युएसएडसँग लिएको १३ करोड रुपैयाँले त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र केन्द्रीय विभागमा खैलाबैला मच्चिएको छ। मानवशास्त्र केन्द्रीय विभागका प्राध्यापकले अनियमित तरिकाले प्रोजेक्ट चलाएर रकम हिनामिना गर्न खोजेको भन्दै विद्यार्थीले विरोध गरेका हुन्। विभागमा पठनपाठन नै बन्द भयो। चर्को विरोधपछि विभागीय प्रमुखले राजीनामा नै दिनुपर्ने अवस्था आयो।

प्राडा लयप्रसाद उप्रेतीले विभागीय प्रमुखबाट राजीनामा दिएका हुन्। अहिले उपप्राध्यापक डा डम्बर चेम्जोङलाई विभागीय प्रमुखको जिम्मेवारी दिइएको छ। त्रिवि कार्यकारी परिषदबाट परियोजना सञ्चालनको स्वीकृति नलिएको, त्रिविलाई १० प्रतिशत रकम नदिएकोजस्ता विषयले विवाद बढाएको हो।

विदेशी निकायसँग रकम लिएर परियोजना सञ्चालन गर्दा त्रिविबाट स्वीकृति लिनुपर्ने र त्रिविलाई १० प्रतिशत रकम दिनुपर्ने नियम छ। परियोजनाका लागि भन्दै आंशिक शिक्षकसमेत त्रिविको अनुमतिविनै नियुक्त गरिएको विद्यार्थीहरूको आरोप लगाएको खबर नयाँ पत्रिका दैनिकमा छ । युएसएडसँग ‘नेपालमा सामाजिक समावेशिताको अध्ययन’ नामको परियोजनाका लागि झन्डै १३ करोड बजेट उपलब्ध गराउने गरी सन् २०१७ मा सम्झौता भएको थियो ।

सो परियोजनामा तत्कालीन विभागीय प्रमुख प्राडा लयप्रसाद उप्रेती प्रोजेक्ट को–अर्डिनेटर भएर काम गरेका थिए। परियोजना सञ्चालनका लागि डा मुक्तासिंह लामालाई आंशिक शिक्षकमा नियुक्त गरी रिसर्च डाइरेक्टरको जिम्मेवारी दिइयो। तर, विभागले त्रिविबाट स्वीकृति नलिई लामालाई आफूखुसी नियुक्त गरेको विषयले खैलाबैला सुरु भयो।

जबकि, आंशिक शिक्षक नियुक्त गर्दा त्रिविबाट सहमति लिनुपर्ने व्यवस्था छ। प्राध्यापकहरूले बाहिरबाट प्रोजेक्ट लिएर आर्थिक लाभमा लाग्ने, तर पढाउनमा ध्यान नदिँदा विद्यार्थी घटिरहेको आरोप छ। त्रिविको लेटरप्याड र लोगो दुरुपयोग गरी व्यक्तिले आर्थिक चलखेल गरेको विद्यार्थीहरूको आरोप छ।