राष्ट्रपतिको लागि पार्टीभित्र र माओवादी केन्द्रसँग छलफल गर्ने : एमाले उपाध्यक्ष रावल

१५ फाल्गुन २०७४, मंगलवार ०९:५१

फागुन १५, काठमाडौं ।

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले राष्ट्रपति कसलाई बनाउने भन्नेबारे अहिले टुंगो नलागेको बताएका छन् ।

मंगलबार रिपोर्टस क्लबको साक्षातकारमा उनले यस विषयमा पार्टीभित्र र माओवादी केन्द्रसँग पनि छलफल गरेर निर्णय गर्ने बताए ।


‘राष्ट्रपति कसलाई बनाउने भन्नेबारे अहिले टुंगो लागेको छैन, स्थायी कमिटिमा पनि छलफल गर्छौं, माओवादी केन्द्रसँग पनि छलफल गर्छौं, अन्तिम टुँगो लाग्न बाँकी छ’ उनले भने ।

रावलले फागुन २५ गतेभित्रै एमाले-माओवादी केन्द्रको एकतासम्बन्धी अन्तरिम विधान र राजनीतिक प्रतिवेदन टुंगो लगाउने र चैत पहिलो हप्ताभित्रै बृहत एकता घोषणा गर्ने बताएका छन् ।

‘फागुन २५ गतेभित्रै हामी विधान र प्रतिवेदन टुंगो लगाउँछौं, त्यसपछि एकता बृहत रुपमा घोषणा गर्छौं, सम्भवतः एकता चैत्रको पहिलो हप्तामै हुन्छ, यदि ढिलो भयो भने पनि दोस्रो हप्ताभित्रै घोषणा हुन्छ’ उनले भने ।

नेता रावलले एकता महाधिवेशन सकेसम्म एक वर्षभित्रै सम्पन्न गर्ने पनि जनाए । आइतबारसम्म उपेन्द्र यादवसहितको मन्त्रिमण्डल विस्तार हुने दावी गरे ।