६ सय जनताको एकजना प्रतिनिधि : प्रदेश ७

१९ चैत्र २०७४, सोमबार ०९:१३

चैत १९, काठमाडौं ।

संघ, प्रदेश र स्थानीय व्यवस्थापिकाका गरी प्रदेश ७ बाट चार हजार १४० जना जनप्रतिनिधिहरु चयन भएका छन् ।

गत असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट प्रदेशभित्रका ८८ स्थानीय तहमा चार हजार ५६ जनप्रतिनिधिहरु चयन भएका छन ।

एक उपमहानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिका रहेको यस प्रदेशमा स्थानीय तह प्रमुखहरु ८८, उपप्रमुखहरु ८८ र वडाध्यक्षहरु सात सय ३४ निर्वाचित भएका छन् । यस्तै वडा सदस्य एवं गाउँ/नगर सभाका सदस्यहरु दुई हजार नौ सय ३६ चयन भएका छन ।

नेपालको संबिधानको धारा २१५ को उपधारा ४ अनुसार प्रत्येक गाउँपालिकामा दलित वा अल्पसंख्यक समुदायबाट गाउँसभाले निर्वाचित गरेका दुई जना सदस्यका दरले एक सय आठ जना निर्वाचित भएका छन ।

यस्तै संबिधानको धारा २१६ को उपधारा ४ अनुसार प्रत्येक नगरपालिकामा दलित वा अल्पसंख्यक समुदायबाट नगरसभाले निर्वाचित गरेका तीन जना सदस्यका दरले एक सय दुई सदस्य रहेका छन् ।

मंसिर २१ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा यस प्रदेशबाट ८४ जना सांसद निर्वाचित भएका छन् । ५३ सदस्यीय प्रदेश सभामा प्रत्येक्षतर्फ ३२ र समानुपातिकतर्फ २१ सांसद चयन भएका हुन ।

यस्तै प्रतिनिधि सभाका लागि यस प्रदेशबाट २३ जना चयन भएका छन् । प्रत्येक्षतर्फ १६ जना प्रतिनिधि सभा सदस्य सिट रहेको यस प्रदेशमा समानुपातिकतर्फबाट भने सात जनाले मात्रै स्थान पाएका छन् ।

निर्वाचन आयोगको वेवसाईटमा राखिएको अभिलेख अनुसार नेकपा एमाललेको तर्फबाट चार, नेपाली कांग्रेसको तर्फबाट दुई र संघीय समाजवादी फोरमको तर्फबाट एक जना मात्रै समानुपातिक कोटामा प्रतिनिधि सभा सदस्य भएका छन् ।

यस्तै माघ २४ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा यस प्रदेशबाट आठ जना चयन भएका छन् ।

२०६८ सालको जनगणना अनुसार प्रदेश ७ को जनसंख्या महिला १३ लाख ३४ हजार ६ सय ३० र पुरुष १२ लाख १७ हजार आठ सय ८७ गरी २५ लाख ५२ हजार पाँच सय १७ रहेको छ । यस आधारमा ६ सय १६ जनसंख्या बरावर एक जना जनप्रतिनिधि हुन आउँछ ।