३३ किलो सुन तस्करी प्रकरणः ८ जनालाई थुनामै राख्न उच्च अदालतको आदेश

२५ माघ २०७५, शुक्रबार १०:२७

विराटनगर – चर्चित साढे ३३ किलो सुन तस्करी एवं मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा संलग्न रहेका भनिएका भुजुङ गुरुङसहित ८ जनालाई उच्च अदालत विराटनगरले थुनामा राख्ने आदेश दिएको छ । उच्च अदालत मोरङको आदेशलाई सदर गर्दै थुनामा रहेकाहरुलाई थुनामै राख्ने आदेश दिएको हो ।थुनामा रहेका ८ जनाले उच्च अदालतमा रिहाईको माग गर्दै पुनरावेदन गरेका थिए । बिहिबार उच्च अदालतले भुजुङ गुरुङ, दोराम खत्री, वीरेन्द्रमान श्रेष्ठ, राजु महर्जन, कपिलराज पुरी, फुल्टुङ भनिने लक्षुबहादुर गुरुङ, बेनु श्रेष्ठ र डाक्टर डेभिट भनिने छिरिङ वाड्ला घलेलाई थुनामै राख्ने जिल्ला अदालतले आदेश सदर गरेको उच्च अदालत विराटनगरका रजिस्टार नारायण रेग्मीले बताए । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।