१३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, सात पक्राउ

१ कार्तिक २०७६, शुक्रबार १६:४१

सुर्खेत , १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ का २३ वर्षीय लालबहादुर रावत, १९ वर्षीय महेश हमाल, १९ वर्षीय तर्क रिजाल, १८ वर्षीय सुदीप खड्का, वडा नं ४ का २३ वर्षीय धनबहादुर खत्री, बराहताल गाउँपालिका–२ का २३ वर्षीय रोशन वली र २१ वर्षीय नरेश बुढा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनु भयो ।

पीडित बालिकाले आइतबार दिएको जाहेरीका आधारमा प्रहरीले आरोपीत सबैलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको हो । जिल्ला प्रहरी कार्यालयले आरोपीलाई हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालतबाट १० दिनको लागि म्याद थप गरिसकेको छ ।

ती बालिकाले प्रहरीलाई दिएको जाहेरीमा आफूलाई उनीहरुले पालैपालो असोज १५, १६ र २३ गते एक पटक चार जनाले र अर्को पटक दुई जनाले करणी गरेको उल्लेख छ ।