१३ रनले दिल्लीलाई पराजित गराउँदै चेन्नई शीर्षस्थानमा

१८ बैशाख २०७५, मंगलवार ०६:०३

वैशाख १८, काठमाडौं ।

पुछारमा रहेको दिल्ली डेयरडेभिल्सलाई १३ रनले दिल्लीलाई पराजित गराउँदै चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आइपिएल) को शीर्षस्थानमा उक्लिएको छ ।

२ सय १२ रनको विजय लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९८ रनमा समेटिएपछि चेन्नई शीर्ष स्थानमा उक्लिएको हो ।

दिल्लीका ऋषभ पन्तले ७९ रन तथा विजय शंकरले नटआउट ५४ रन जोडे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

ओपनर पृथ्वी शअ ९ रन जोड्दै पेभेलियन फर्केपछि कोलिन मुनरोले २६ रन जोडेका थिए । कप्तान श्रेयस ऐर १३ रनमा आउट भएका थिए ।

दिल्लीलाई रोक्न चेन्नईका बलरले सम्हालिएको बलिङ गरे । उसका लागि केएम आसिफले २ तथा लुंगी एन्गीडी र रविन्द्र जडेजाले १-१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले शेन वाट्सनको अर्धशतक तथा अम्बाटी रायडु र कप्तान महेन्द्र सिंह धोनीको आक्रामक ब्याटिङपछि निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो ।

उसका लागि वाट्सन र फा डु प्लिसिसले पहिलो विकेटका लागि १ सय २ रन जोड्दै मजबुद सुरुवात दिलाएका थिए । वाट्सनले ४० बलमा ७ छक्का र ४ चौकाको मद्दतमा ७८ रन बनाएका थिए । डु प्लिसिसले ३३ बल खेल्दै ३ चौका र १ छक्कासहित ३३ रन जोडेका हुन् ।

अघिल्लो खेलमा अर्धशतक बनाएका सुरेश रैना १ रनमै आउट भएपनि कप्तान धोनी र अम्बाटी रायडुले पारीलाई अघि बढाएका थिए । २२ बल खेलेका धोनीले ५ छक्का र २ चौकासहित ५१ रन जोडेका हुन । त्यसैगरी रायडुले ५ चौका र १ छक्का प्रहार गर्दै ४१ रन जोडेका हुन् ।

दिल्लीका लागि अमित मिश्रा, विजय सरकार र ग्लेन म्याक्सवेलले बराबर १(१ विकेट लिएका थिए ।

गएरातिको नतिजासँगै ८ मध्ये ६ खेल जितेको चेन्नई १२ अंकसहित शीर्षस्थानमा छ । त्यत्तिनै खेलमा २ खेल मात्र जितेको दिल्ली ४ अंकसहित तालिकाको पुछारमा छ ।

रोयल च्यालेन्जर्स बैंलोर र मुम्बई इन्डियन्स मंगलबार भिड्नेछन् ।