१० वर्ष समृद्धिका लागि काम गरेर माथि जाने विचार छः प्रचण्ड

२६ पुष २०७५, बिहीबार १२:२३

चितवन– नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई प्रोत्साहित र उत्साहित नगरेसम्म समृद्धिको सपना पूरा नहुने बताउनु भएको छ । 

चितवन महोत्सवको  उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले निजी क्षेत्रलाई सकारात्मक ढङ्गले प्रोत्साहित गर्नुपर्नेमा जोड  दिनु भयो ।  पूर्वाधार र विकासका दृष्टिले निजी र सार्वजनिक क्षेत्रका बीचमा नङ र मासुको जस्तो सम्बन्ध हुनुपर्ने बताउँदै उहाँले भन्नु भयो , ‘अब  हामीले लिएका नीतिगत निर्णयहरु, संवैधानिक, राजनैतिक निर्णयलाई व्यवहारमा उतार्नुपर्छ।’

जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी परिणाम र विकासलाई गति दिने चुनौती र समस्या नै हाम्रो अगाडिका अबका समस्या रहेको उहाँको  जिकिर थियो। राष्ट्रलाई एकता, विकास र समृद्धितिर लैजानुपर्ने उल्लेख गर्दै प्रचण्डले भन्नु भयो , ‘१० वर्ष समृद्धिका लागि काम गरेर माथि जाने विचार छ।’चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य रहनु भएका  प्रचण्डले सबैको साथ र सहयोग भयो भने चितवन र नेपाललाई नमूनाका रुपमा विकास गर्न सकिने दाबी गर्नु भयो । 

कार्यक्रममा प्रतिनिधिसभाको कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चण्डीराज ढकाल, प्रदेश नम्बर ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, किशोर प्रधान, प्रजिअ जितेन्द्र बस्नेत, उद्योग सङ्घ चितवनका अध्यक्ष भेषराज दुवाडी लगायतले विकास र समृद्धिको बाटोमा सहयोग आवश्यक भएको बताउनु भयो ।

कार्यक्रमका अवसरमा अध्यक्ष दाहालले महोत्सवको सन्दर्भमा प्रकाशित स्मारिका र चितवन जिल्ला पर्यटन निर्देशिकाको विमोचन गर्नु भएको थियो ।  महोत्सव माघ ४ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवमा ५ सय ७० व्यापारिक कक्ष रहेका छन्। उद्योग वाणिज्य सङ्घ चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको संयुक्त आयोजनामा महोत्सव गरिएको हो।