होटल सञ्चालन गर्न ‘पे नाउ, गो लेटर’ योजना सुरू

६ जेष्ठ २०७७, मंगलवार ०८:४७

चितवन, लकडाउनका कारण उत्पन्न परिस्थितिबाट पर्यटकीय होटलहरू बचाउन ‘पे नाउ, गो लेटर’ योजना सुरू भएको छ । ठप्प भइरहेका होटल व्यवसायलाई उकास्न सरकार र निजी क्षेत्रबाट ठोस कार्यक्रम सार्वजनिक हुन नसकेका बेला पर्यटन क्षेत्रमा लामो अनुभव भएका केही युवा व्यवसायीले यो योजना अघि सारेका हुन् । ‘पे नाउ, गो लेटर’ अभियन्तामध्येका चितवन सौराहाका होटल व्यवसायी सुमन घिमिरे लकडाउन खुलेलगत्तै आन्तरिक पर्यटकलाई आकर्षण गर्न यो अभियान सार्थक हुने दाबी गर्छन् ।

‘पे नाउ, गो लेटर’ अभियान अहिले १० हजार रुपियाँ जम्मा गर्ने र ६० दिन अर्थात् २ महिनापछि १५ हजार रुपैयाँ बराबरको सुविधा होटलबाट ग्राहकले पाउने भन्ने हो, क्षेत्रीय होटल सङ्घ सौराहाका निवर्तमान अध्यक्षसमेत रहेका घिमिरेले भने, ‘यो पैसाले अहिले होटल बचाउन सहयोग गर्छ भने भोलि लकडाउन खुलेपछि पर्यटक भित्र्याउन पनि ठूलो सहयोग पुग्नेछ ।’

यो अभियानमा देशैभरिका केही पर्यटकीय होटल व्यवसायी सामेल हुनसक्ने व्यवस्था गरिएको छ । ‘पे नाउ गो लेटर डट कम’ नामको वेबसाइटमा गएर जुनसुकै व्यक्तिले पनि आफूले चाहेको होटल बुक गर्नसक्ने पनि घिमिरेले जनाए । 

यो अभियानमा काठमाडौं, पोखरा, चितवन (सौराहा), लुम्बिनी, बर्दिया, बागलुङलगायतका पर्यटकीय क्षेत्रहरूका सयभन्दा बढी होटल सामेल हुने बताइएको छ । आगामी वर्षको बजेट निर्माणको तयारी भइरहेको बेला आन्तरिक पर्यटन प्रवद्र्धनसम्बन्धी ठोस योजना ल्याउन व्यवसायीहरूले मागसमेत गरेका छन् ।

नेपाल होटल व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष दिनेशकुमार चुकेले ग्राहकलाई विश्वासमा लिनसक्ने हो र मार्केटिङ राम्रो गर्नसक्ने हो भने यो अभियानले पर्यटन क्षेत्रका होटलहरूलाई राम्रो गर्ने बताए । 

‘यो प्याकेज सँगै होटलहरूले आफ्नो गुणस्तरीय सेवा प्रदान गर्दै कति प्रतिशतसम्म छुट प्याकेज दिनसक्ने अवस्था हुन्छ त्यो नै सबैभन्दा ठूलो कुरा हो’ उनले भने, ‘होटलहरूले भारी छुटको अफर गरेर पनि आन्तरिक पर्यटकलाई आकर्षण गर्न सक्नुपर्छ ।’ 

यो अभियानले होटल सञ्चालनमा आउनसके होटलमा कार्यरत जनशक्तिलाई रोजगारीमा फर्काउनसक्ने वातावरण तयार हुने विश्वास होटल व्यवसायीहरूले गरेको आजको गोरखापत्र दैनिकमा खवर छ ।