हिन्दू राज्य र राजतन्त्र चाहिन्छः कमल थापा

१३ फाल्गुन २०७५, सोमबार १३:४८

काठमाडौं , राप्रपाका अध्यक्ष कमल थापाले गणतन्त्र स्थापनापछिको १२ वर्षको समीक्षा गर्दै राजतन्त्रबारे पुनर्विचार गर्न ठूला राजनीतिक दलहरुलाई आग्रह गर्नु भएको छ । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा अध्यक्ष थापाले राजतन्त्र र हिन्दूराष्ट्रको पहिचान मेटाएको १२ वर्षसम्म देश र जनताले कुनै उपलब्धि हासिल गर्न नसकेको भन्दै यस विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बताउनु भएको हो । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष थापाले पछिल्लो १२ वर्ष देशले अवलम्बन गरेको मार्गचित्र नै त्रुटिपूर्ण भएको दाबी गर्नु भयो । थापाले २०६२ सालमा तत्कालिन नेकपा माओवादी र ७ दलबीच भारतमा भएको सम्झौतालाई त्यसबेला नै आफूहरुले अपवित्र भनेर टिप्पणी गरेको बताउनु भयो । थापाले लोकतन्त्रसहितको राजसंस्थाको पनि आवश्यकता रहेको बताउनु भयो । गणतन्त्रले बेथिती मात्रै बढाएको भन्दै अब लोकतन्त्रसहितको राजसंस्था स्थापना गर्नुपर्ने थापाको भनाइ थियो । उहाँले यी सबै विषयमा गोलमेच सम्मेलन गर्न सरकारसँग मागसमेत गर्नु भयो । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको २२ बुँदे ज्ञापनपत्रका बारेमा थापाले फागुन मसान्तसम्म सरकारले सकारात्मक सम्बोधन नगरे चैत्र १ गतेदेखि जनसंघर्ष सुरु गर्ने घोषणा गर्नु भयो ।