हिन्दू धर्मको माग गर्दै महासमिति सदस्यहरुको हस्ताक्षर संकलन

२ पुष २०७५, सोमबार १२:४३

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको जारी महासमिति बैठकमा नेपाललाई हिन्दू धर्म कायम गर्नुपर्ने मागले प्रवेश पाउने भएको छ । कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले महासमिति बैठकमा उक्त माग पेश गर्ने तयारी गरेका छन् ।


नेपाललाई ‘वैदिक सनातन हिन्दू धर्म’को मुलुक कायम गर्नुपर्ने माग गर्दै महासमिति बैठक स्थल परिसरमा संकलन गरिएको हस्ताक्षर केन्द्रीय सदस्य भण्डारीले महासमिति बैठकमा पेश गर्ने तयारी गरेको अभियानमा जुटेका कांग्रेस नेताहरुले बताएका छन् ।
महासमिति बैठक उद्घाटन हुनु अगाडिबाटै शुरु गरिएको हस्ताक्षर संकलन अभियानमा भण्डारीले नै सबैभन्दा पहिले हस्ताक्षर गरेका थिए । हिन्दू धर्मको माग गर्दै महासमिति सदस्यहरुको हस्ताक्षर संकलनका लागि राखिएको पुस्तिकामा उनले पहिलो नम्बरमा हस्ताक्षर गरेका हुन् ।
केन्द्रीय सदस्य भण्डारीपछि कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले हस्ताक्षर गरेका छन् । महासमिति सदस्यको हस्ताक्षर संकलनका लागि राखिएको हस्ताक्षर पुस्तिकामा गैरहिन्दूले पनि हस्ताक्षर गरेका छन् ।
नेपालमा हिन्दू धर्म कायम गरिनुपर्ने मागमा दाङ क्षेत्र नम्बर २ का मुस्लिम समुदायबाट महासमिति सदस्य बनेका लाल मोहम्मद मियाँले हस्ताक्षर गरेको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सह–महामन्त्री तथा कांग्रेस महासमिति सदस्य शम्भुहरि बास्तोलाले जानकारी दिए ।
हस्ताक्षर पुस्तिकामा महासमिति सदस्यहरुका तर्फबाट पूर्वमन्त्री मोहन बस्नेत, भक्तबहादुर बलायर, चिरञ्जिवी वाग्ले, पूर्व सभामुख तारानाथ रानाभाट, पूर्व गृहराज्यमन्त्री इन्द्र बानियाँ, कांग्रेसका पूर्व प्रमुख सचेतक लक्ष्मण घिमिरे, केन्द्रीय सदस्यहरु कुमार खड्का, पुष्पा भुषाल, कास्की सभापति कृष्ण केसी, ओखलढुंगा सभापति प्रदीपकुमार सुनुवार, अछाम सभापति भरतबहादुर स्वाँर, बझाङ सभापति हर्कजंगबहादुर सिंह, हुम्ला सभापति जयपति रोकायलगायतका जिल्ला सभापतिहरुको हस्ताक्षर रहेको छ । काठमाडौं महानगरपालिकाका मेयर पदका उमेदवार राजुराज जोशी र तत्कालीन लोकतान्त्रिक फोरमका महामन्त्री तथा कांग्रेस महासमिति सदस्य भारतेन्द्र मल्लिकले पनि हिन्दू राष्ट्रको माग गर्दै चलिरहेको हस्ताक्षर अभियानमा ऐक्यवद्धता जनाएका छन् ।
महासमिति सदस्य बास्तोलाले अहिलेसम्म ७७५ जना महासमितिहरुले हस्ताक्षर गरेको जानकारी दिए । उनका अनुसार ११ सयभन्दा बढी महासमिति सदस्य बाहेकका कांग्रेस नेता–कार्यकर्ताहरुले पनि नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग गर्दै हस्ताक्षर गरेका छन् ।