हिउँदे अधिवेशन छिट्टै आह्वान हुनेः ढकाल

१ पुष २०७५, आईतवार १४:१६

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संघीय संसदको हिउँदे अधिवेशन छिट्टै आह्वान हुने बताएका छन् । प्रतिनिधिसभा भवन मर्मत सम्हार भईरहँदा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ढकालले हिउँदे अधिवेशन आह्वान गर्ने तयारी अन्तिम चरणमा पुगेको उल्लेख गर्दै अब ढिलाई नहुने प्रष्ट्याएका हुन् ।

आईतबार काठमाडौंमा आयोजित संसदीय मामिला पत्रकार समाजको अधिवेशनलाई सम्बोधन गर्दै उनले आगामी हिउँदे अधिवेशनमा सरकारले संविधानसँग बाँझिएका कानुन निर्माणको कामलाई उच्च प्राथमिकतामा राखेको पनि स्पष्ट पारे ।

आगामी फागुन २० गतेभित्र संविधानसँग बाँझिएका सबै कानुन संशोधन गरि सक्नुपर्ने संवैधानिक व्यवस्था छ । मन्त्री ढकालले सो संवैधानिक प्रावधानअनुसार सबै कानुनलाई संविधान अनुकूल बनाउने कामलाई सरकारले उच्च प्राथमिकता दिने बताए ।