हावाहुरीमा मृत्यु भएकाको सम्झनामा प्रदेश २ मा आज शोक मनाइँदै

३० चैत्र २०७५, शनिबार १३:०७

धनुषा – बारा र पर्साका भीषण हावाहुरीमा ज्यान गुमाएकाहरुको सम्झनामा प्रदेश २ मा आज शोक मनाइँदै छ ।

चैत २४ गते बसेको प्रदेश २ मन्त्री परिषद बैठकले अजको दिनलाई प्रदेशिक शोक घोषणा गर्ने निर्णय गरेको थियो ।

प्रदेश सरकारको आह्वानमा हावाहुरीमा ज्यान गुमाएकाहरुको १३ औँ पुण्य तिथिको अवसरमा आज बिहान ११ बजे मृतकहरुको आत्माको चिरशान्तिको कामना गर्दै २ मिनेट मौन धारण गरिएकाे छ । आज शनिबार कार्यालय नखुल्ने हुनाले आ-आफ्नै स्थानबाट शोक मनाउन सबैमा आह्वान गरिएको प्रदेश २ का आन्तरिक मामिला तथा कानुमन्त्री ज्ञानेन्द्र यादवले बताउनुभयो ।

गएकाे चैत १७ गते साँझ असिना,पानीसँगै आएको विनाशकारी हावाहुरीमा बारा र पर्साका २८ जनाको ज्यान जानुको साथै ५ सय भन्दा बढी घाइते भएका थिए । त्यसको भोलिपल्ट चैत १८ गते बसेको प्रदेश २ को मन्त्रिपरिषदको आकास्मिक बैठकले जनधनको ठूलो क्षति भएकाले संघीय सरकारलाई राष्ट्रिय शोक घोषणा गर्न आग्रह गरेको थियो । तर संघीय सरकारले कुनै चासो नदेखाएपछि मृतकहरुको सम्झनामा प्रदेश स्तरमै शोक मनाइँदै छ ।