हङकङविरुद्धको दोस्रो खेल रद्द, नेपाल डिभिजन टूमा घटुवा हुने निश्चित

३० आश्विन २०७४, सोमबार ०६:१३

असोज ३०, काठमाडौँ । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आइतबार तय भएको हङकङबिरुद्धको दोस्रो खेल वर्षाका कारण रद्ध भएपछि नेपाल डिभिजन टू मा घटुवा हुने निश्चित भएको छ ।

हङकङमा आइतबार आएको सामुद्रिक तुफानसँगै वर्षा भएपछि सोमबारका लागि सारिएको खेल पनि वर्षाले स्थगित भयो । त्यसपछि अम्पायरले दुवै टोलीलाई एक एक अंक बाँड्ने निर्णय गरे ।

यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको थियो ।

यस नतिजाले नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चार भित्र पर्न असफल भएसँगै डिभिजन टूमा घटुवा हुने निश्चित भएको छ ।

डिभिजन टूमा घटुवा भए पनि नेपालले सन् २०१९ मा इंग्ल्याण्डमा हुने एकदिवशीय विश्वकपको छनोट खेल्ने सम्भावना भने सकिसकेको छैन ।

आगामी फेब्रुअरीमा नेपालले नामिवियामा हुने आईसीसी डिभिजन टू मा सहभागिता जनाउनेछ । त्यस प्रतियोगितामा शीर्ष दुईभित्र रहेमा नेपालले विश्वकप छनोट खेल्ने अवसर पाउनेछन् ।