स्वास्थ्य सेवा विभागका नयाँ महानिर्देशकमा डा. विनोदमान श्रेष्ठ

२ फाल्गुन २०७४, बुधबार ११:११

फागुन २, काठमाडौं ।

स्वास्थ्य मन्त्री दीपक बोहराले स्वास्थ्य सेवा विभागमा डा. विनोदमान श्रेष्ठलाई महानिर्देशक बनाएका छन् ।

तत्कालीन निमित्त महानिर्देशक डा. राजेन्द्रप्रसाद पन्तलाई ३० पुसमा हटाएर डा. तारानाथ पौडेललाई जिम्मेवारी दिएपछि विवाद उत्कर्षमा पुगेको थियो ।

१७ माघमा डा. पन्तले दायर गरेको रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले त्यसको भोलिपल्ट डा. पन्तलाई जिम्मेवारीबाट नहटाउन अन्तरिम आदेश दिएको थियो । उनको रिट खारेजी माग गर्दै डा. पौडेलले २५ माघमा सर्वोच्चमा ‘भ्याकेट‘ निवेदन दर्ता गराएका थिए ।

विवाद उत्कर्षमा रहेका बेला मन्त्री बोहराले तेस्रो व्यक्तिलाई महानिर्देशकको जिम्मेवारी दिएका हुन् । डा. श्रेष्ठ मन्त्रालयका १२ औं तहका अधिकृत हुन् । विभागको महानिर्देशक सोही तहका अधिकृत हुने गर्छन् ।

यससँगै डा. पन्त र डा. पौडेलबीचको विवाद टुंगिएको छ । दुवै ११औं तहका अधिकृत हुन् ।

मन्त्रालयका एक उच्चअधिकारीले भने ‘विवाद गर्नै नपर्ने र सामान्य छलफलबाटै मिलाउन सकिने कुरामा पनि दुवै जना अडिग भएपछि समस्या आएको हो । डा. श्रेष्ठलाई विभागको जिम्मेवारी दिएसँगै यो विवाद टुंगिएको छ,’ ।