स्पेन रसियासँग हारेसँगै इनिस्टाले अन्तराष्ट्रिय फुटबलबाट लिए सन्यास

१८ असार २०७५, सोमबार ०५:३७

असार १८, काठमाडौं ।

स्पेनिस मिडफिल्डर आन्द्रे इनिस्टाले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । आयोजक रसियासँग टाइब्रेकरमा हार्दै स्पेन विश्वकपको प्रि क्वार्टरफाइनलबाटै बाहिरिएपछि इनिस्टाले पनि सन्यास लिएका हुन् ।

२०१० मा स्पेनले विश्वकप जित्दा निर्णायक गोल गरेका ३४ वर्षीय इजिस्टा सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए । टाइब्रेकरमा पहिलो पेनाल्टी हानेका उनले गोल गरे । तर, कोके र आसपासको पेनाल्टी रसियन गोलरक्षकले रोक्दै स्पेनलाई घर पठाए ।

 

खेलपछि इनिस्टाले भनेका छन्, ‘यो वास्तविकता हो कि राष्ट्रिय टिमबाट यो मेरो अन्तिम खेल हो ।’

 

इनिस्टाले २००६ मा राष्ट्रिय टिममा डेब्यू गरेका थिए । उनले २००८ र २०१२ मा युरोकप जिदाउन पनि महत्वपूर्ण भूमिका खेले । इनिस्टाको अन्तिम खेल भने सुखद रहेन । उनले भने, ‘यो मेरो जीवनको दुःखद दिन हो ।’