स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु, एक गम्भीर घाइते

२४ कार्तिक २०७६, आईतवार १०:४०

चितवन, चितवनमा स्कुटर अनियन्त्रित भई पल्टिँदा एकजनाको ज्यान गएको छ। दुर्घटनामा भरतपुर उपमहानगरपालिका–५ का १७ वर्षीय भिमसेन पोख्रेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। गीतानगरबाट भरतपुरतर्फ आउँदै गरेको ना ५९ प ३३७० नम्बरको स्कुटर भरतपुर–७ तेह्रसालचोकमा आइतबार बिहान ४ बजे दुर्घटना भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका पोख्रेलको उपचारका क्रममा भरतपुर अस्पतालमा बिहान ४ः४५ बजे ज्यान गएको प्रहरीले जनाएको छ। उनको शव भरतपुर अस्पतालमा राखिएको छ। प्रहरीका अनुसार मृतकको भरतपुर–११ का २६ वर्षीय सुवास तामाङ स्कुटर चलाउने क्रममा दुर्घटनामा परेका हुन्। स्कुटरको पछाडि सवार रत्ननगर नगरपालिका–६ की २० वर्षीय पूजा सुनार घाइते भएकी छन्। उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। गम्भीर घाइते सुनारको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।