स्काभेटर दुर्घटनाः १ जनाको ज्यान गयो ३ जना घाइते

२६ मंसिर २०७६, बिहीबार १०:१९

दोलखा , गए राति भीमेश्वर नगरपालिका–२ तिखातलमा स्काभेटर दुर्घटना हुँदा एकको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार चरिकोटबाट दोलखा बजार जाने क्रममा स्काभेटर तीव्र गतिका कारण अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसी दुर्घटना हुँदा दोलखा जिल्ला बिगु गाउँपालिका–८ खोपाचागुका २२ वर्षीय राजु थामीको ज्यान गएको छ ।
उक्त दुर्घटनामा परी तीन जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा भिमेश्वोर नगरपालिका–२ का १६ वर्षीय सुमन थामी, बिगु गाउँपालिका–७ का २७ वर्षीय विजय श्रेष्ठ र स्काभेटर चालक कालीञ्चोक गाउँपालिका–४ का २२ वर्षीय राजकुमार थामी रहेका छन् । घाइतहरुको काठमाडौँको ग्राण्डी र शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।