सोनाम ल्होसारमा प्रधानमन्त्रीको शुभकामना

२२ माघ २०७५, मंगलवार ११:०२

काठमाडौं,  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका सांस्कृतिक विविधताले नेपालीलाई एक सूत्रमा बाँध्न महत्वपूर्ण योगदान गरेको बताउनु भएको छ ।   तामाङ जातिले मनाउने सोनाम ल्होछार पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले विविध सांस्कृतिक परम्परा र संस्कृतिले नेपाललाई विश्वमा अलग पहिचान दिएको  जनाउनु भएको छ ।

प्रधानमन्त्रीले सन्देशमा  भन्नु भएको छ ,  “नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक देश हो । यहाँ हरेक जातजातिका आआफ्नै परम्परा, चाडपर्व, वेशभूषा रहेका छन् । मुलुकमा बसोबास गर्ने सबै जातिका चाडपर्वप्रति सरकारको उत्तिकै सद्भाव र सम्मान छ ।” वर्तमान सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य राखेर अघि बढेको स्पष्ट पार्दै उहाँले यस यात्रामा देशका सबै जातजाति, धर्म र सम्प्रदायको योगदान अपेक्षित रहेको  जनाउनु भएको छ ।   प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा बसोबास गर्ने सम्पूर्ण तामाङ समुदायका दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकाना व्यक्त  गर्नु भएको छ ।