सेवाग्राहीले काम छिटो गर्ने नाममा कर्मचारीलाई घुस्याहा बनाएः मन्त्री अर्याल

१३ श्रावण २०७६, सोमबार १८:३१

काठमाडौं, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पदमा अर्यालले घुस खाने कर्मचारीलाई आफ्नो मन्त्रालय र विभागबाट संरक्षण गरेको प्रमाण ल्याए आफू फाँसीमा झुण्डिन तयार रहेको बताउनु भएको छ । मन्त्री अर्यालले आफ्नो मन्त्रालय मातहतका सबै निकायमा सुशासन कायम गराउन लागि परेको दावी समेत गर्नु भयो ।
सोमबार काठमाडौंको साँखुमा आधुनिक सुविधायुक्त मालपोत कार्यालय सेवाको शुभारम्भ गर्दै उहाँले कर्मचारीलाई घुस नदिने संकल्प गर्न सेवाग्राहीलाई पनि अपिल गर्नु भयो । सेवाग्राहीले काम छिटो गर्ने नाममा कर्मचारीलाई घुस्याहा बनाएकाले सुशासन कायम गर्न आफूलाई अप्ठयारो परिरहेको मन्त्री अर्यालको गुनासो छ ।

मन्त्री अर्यालले घुस नलिन कर्मचारीलाई र नदिन सेवाग्राहीलाई पटक–पटक सचेत गराउनु भयो । नदिए कसैले पनि घुस नलिने र नापी तथा मालपोत कार्यालयमा सुशासन कायम हुने मन्त्री अर्यालको भनाई छ । उहाँले मालपोत तथा नापी कार्यालयको सेवालाई पारदर्शी बनाउन सरकारले प्रविधिमा जोड दिएको पनि स्मरण गराउनु भयो । मन्त्री अर्यालले मालपोत तथा नापी कार्यालयमा सबैभन्दा बढि विकृति भित्रिएकाले त्यसलाई अन्त्य गर्न प्रविधिको विकासमा जोड दिनु परेको पनि स्पष्ट पार्नु भयो ।