सुरु भयो जानकी मन्दिरको सौन्दर्यीकरण

१३ मंसिर २०७५, बिहीबार १४:४९

धनुषा

हिन्दू धर्मावलम्बीहरुको आस्थाको धरोहर जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरको सौन्दर्यीकरण थालिएको छ ।विश्वसम्पदा सूचीमा सूचीकृत गराउन प्रदेश नं २ को पर्यटक आकर्षणको केन्द्रबिन्दु बनाउने उद्देश्यसहित प्रदेश २ सरकारले धार्मिक तथा ऐतिहासिक जानकी मन्दिरलाई सौन्दर्यीकरण गर्ने काम प्रारम्भ गरेको हो ।

 

मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत हुन लागेको जानकी मन्दिर शौन्दर्यीकरण कामको बिहीबार एक समारोहबीच प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत  प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले संयुक्त रुपमा शिलान्यास गरेका  छन । हिन्दू परम्परा अनुसार ब्राह्मणले मन्त्रोच्चारण गरी शिलान्यास गरेर सौन्दर्यीकरण कामको विधिवत सुरुवात गरिएको छ ।

 

सात करोड २१ लाखको लागतमा जानकी मन्दिरको सौन्दर्यीकरण हुन लागेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव हरि फुयालले जानकारी दिए ।सौन्दर्यीकरणको काम अन्तर्गत जानकी मन्दिरको तीनवटा प्रवेशद्वारको मर्मत सम्भार, जानकी मन्दिर परिसरभित्र मार्बल, ग्रेनाइट लाइट र जानकी मन्दिरको उत्तर, दक्षिण प्रवेशद्वारमा चरण गंगा निर्माण हुने डिजाइनर प्रभाकर चौधरीले बताए । उनका अनुसार  जानकी मन्दिर सौन्दर्यीकरणको ठेक्का आरजे रञ्जन कम्पनीले लिएको छ ।

 

जानकी मन्दिर सौन्दर्यीकरण कामको शिलान्यास गर्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ को विकासको कामको सुरुवात भएको उद्घोष गरे । ‘आर्थिक वर्ष २०७५–०७६ को विकासे कामको सुरुवात जानकी मन्दिरबाट गरेका छौँ’, मुख्यमन्त्री राउतले भने ‘विश्वभरिका हिन्दूहरुको आस्थाको केन्द्र पवित्र स्थल जानकी मन्दिरबाट विकासको कामको प्रारम्भ भएको छ । त्यसलै अब प्रदेश २ को विकासको कामलाई कुनै पनि शक्तिले रोक्न सक्दैन ।’

 

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराई विश्वभरका पर्यटकहरुको आकर्षणको केन्द्र बनाउन सौन्दर्यीकरण गर्न थालेको बताउँदै मुख्यमन्त्री राउतले पर्यटको आगमनले जनकपुरलगायत प्रदेश २ आर्थिक रुपले समृद्ध हुने विश्वास व्यक्त गरे ।जानकी मन्दिर प्रदेश २ को धरोहर भएकाले झण्डै ८ करोडको लागतमा सौन्दर्यीकरण हुन लागेको र त्यो बजेटले नभ्याए पुनः बजेट थपिने समेत मुख्यमन्त्री रातको भनाई छ ।शिलान्यास कार्यक्रममा प्रदेशका राज्यमन्त्री योगेन्द्र यादव, मुख्य न्यायाधीवक्ता दिपेन्द्र झा, जानकी मन्दिरका सह–महन्त रामरोशन दास वैष्णव, नगरकी उपमेयर रिता झा, मन्त्रालयका पदाधिकारी प्रदेशसभा सदस्य, सुरक्षा निकायका प्रमुख, साधुसन्तलगायतको उपस्थिति रहेको थियो ।