सुरक्षा व्यवस्था कडा गर्न प्रधानमन्त्रीको निर्देशन

४ मंसिर २०७४, सोमबार १०:५८

मंसिर ४,काठमाण्डौ ।
आउँदो निर्वाचनमा जनताले भयरहित वातावरणमा आफूले रोजेको दल र तिनका उम्मेदवारलाई मतदान गर्न सक्ने गरी सुरक्षा प्रवन्ध मिलाउन सुरक्षा निकायलाई प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिनुभएको छ ।

आज गृहमन्त्रालयमा प्रदेश नम्बर तीन स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सुरक्षाका विषयमा कसैसँग सम्झौता नगर्न निर्देशन दिनुभएको हो । उहाँले सरकार निर्वाचनका लागि आवश्यक सबै सुरक्षाको प्रवन्ध मिलाउन प्रतिवद्ध रहेको बताउदै यस कार्यमा कसैसित सम्झौता नहुने पनि प्रष्ट पार्नुभयो । प्रधानमन्त्रीले मतदान बिथोल्न खोज्ने समूहलाई असफल बनाइ जनतालाई सुरक्षाको प्रत्याभूति दिएर निर्धक्क रुपमा मतदान गर्ने वातावरण बनाउन निर्देशन दिनुभएको हो ।

 

प्रधानमन्त्रीले देउवाले आम मतदातालाई भड्काउने, मतदानस्थल कब्जा गर्ने मनसाय पनि सुरक्षाको चुनौती बन्नसक्ने भन्दै सबै सुरक्षा निकायले सुरक्षा प्रणालीमा तहगत निर्देशनलाई उचित रुपमा परिपालना गरेर काम गर्न समेत निर्देशन दिनुभयो । गृह सचिव मोहनकृष्ण सापकोटाले निष्पक्ष, भयरहित र स्वतन्त्र निर्वाचन सम्पन्न गर्न निर्वाचन अघि, निर्वाचनमा र निर्वाचनपछिका तीनै चरणमा सुरक्षा दिनका लागि सुरक्षा योजना कार्यान्वयनमा ध्यान केन्द्रित गर्न निर्देशन दिनुभयो । निर्वाचनको मिति नजिकीदै्र गर्दा विष्फोटका घटनाले जनजीवन आत्रकस्त हुदै गएको छ ।