सुदुरपश्चिमाञ्चलका १५ सामुदायिक क्याम्पसलाई विश्वविद्यालयको आंगीकका लागी दरबन्दी स्वीकृत

२६ भाद्र २०७४, सोमबार १३:५४

भदौ २६, धनगढी । सुदूरपश्चिमका ९ वटै जिल्लामा रहेका १५ वटा सामुदायीक क्याम्पसलाई अन्नतः सुदुरपश्चिमाञ्चल विश्वविद्यालयको आंगीक बनाउनका लागी दरबन्दी स्वीकृत भएको छ । सामुदायिक क्याम्पसलाई आंगिक बनाउन सुदुरपश्चिमाञ्चल विश्वविद्यालय सभाले पारित गरेर विश्व विद्यालय अनुदान आयोगमा पठाएको थियो । आंगिक क्याम्पसहरुको अनिवार्यतालाई मध्यनजरमा राखी १५ वटा क्याम्पसहरुलाई आवश्यक रहेका ४ सय ४४ वटा दरबन्दी विश्वविद्यालय अनुदान आयोग र शिक्षा मन्त्रालयले स्वीकृत गरेका हुन भने गत साता मात्रै अर्थ मन्त्रालयले पनि सोही दरबन्दीमा सहमती दिएको हो ।

कैलाली र बैतडीमा ३-३, बाजुरा, दार्चुला र डोटीमा २-२ तथा अछाम, डडेल्धुरा र बझाङमा १-१ क्याम्पसलाई आंगीक बनाउन दरबन्दी पास गरीएको अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीले बताउनुभयो । कैलालीको कैलाली बहुमुखी क्याम्पस, दुर्गा लक्ष्मी वहुमुखी क्याम्पस अत्तरीया, टिकापुर वहुमुखी क्याम्पस टिकापुर, बझाङको जयपृथ्वी बहुमखी क्याम्पस, बाजुराको बडिमालिका क्याम्पस, बाजुरा बहुमुखी क्याम्पस, बैतडीको जगन्नाथ बहुमुखी क्याम्पस, पाटन बहुमुखी क्याम्पस, मणिलेक बहुमुखी क्याम्पस, दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पस, दार्चुला बहुमुखी क्याम्पस, अछामको जनता बहुमुखी क्याम्पस र डडेल्धुरको त्रिवेणी बहुमुखी क्याम्पस अव सुदुरपश्चिमाञ्चल विश्व विद्यालयका आंगीक क्याम्पसका रुपमा रहने छन् ।

यस्तै डोटीको सीताराम बहुमुखी क्याम्पस र घन्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पस पनि आंगीक बन्ने भएका छन् । विद्यार्थीहरुको शुल्क र अभिभावकहरुबाट चन्दा संकलन गरेर सञ्चालन भईरहेका क्याम्पसहरुमा सरकारी लगानी भित्रीएपछि यस क्षेत्रको शिक्षाले ठुलो फड्को मार्ने डडेल्धुराको त्रिवेणी वहुमुखी क्याम्पस सञ्चालक समितीका अध्यक्ष दल वहादुर साउदले बताए । स्वीकृत दरबन्दी सुदुरपश्चिमाञ्चल विश्व विद्यालयलाई पठाईने छ भने विश्व विद्यालयले सबै १५ वटा क्याम्पसहरु अहिले त्रिभुवन विश्व विद्यालय अन्तरगत सञ्चालन भईरहेकाले त्रिवीको सम्वन्धन छोडेर सुदुरपश्चिमाञ्चल विश्व विद्यालयको सम्वन्धनमा आउनका लागी सुचना जारी गर्नेछ ।

तर सामुदायीक क्याम्पसहरु मध्ये सबैभन्दा बढि विद्यार्थी अध्ययनरत रहेको कैलाली वहुमुखी क्याम्पसलाई आंगीक बनाउने वा नबनाउने विषयमा लामो समय देखी विवाद छ । धेरैले सुदुरपश्चिमाञ्चल विश्व विद्यालय आफै अस्तव्यस्त भएका बेला कैलाली वहुमुखी क्याम्पसलाई आंगीक बनाउँदा क्याम्पसको पढाईको गुणस्तर खस्कीने अनुमान गरीरहेका छन् । तर क्याम्पस प्रशासन र सञ्चालक समितीले भने विश्व विद्यालयको केन्द्रिय क्याम्पस सिद्धनाथ वहुमुखी क्याम्पस सरह नै कैलाली वहुमुखी क्याम्पसलाई नै राख्नपर्ने माग राख्दै आएको छ ।

तत्काल आंगीक क्याम्पसमा जाने र पछि विश्व विद्यालयको केन्द्रिय क्याम्पसका लागी संघर्ष गर्ने कैलाली वहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डाक्टर पदमराज जोशीले बताए । आंगिक बनाउन लागिएका सबै क्याम्पस अहिले त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित छन् । ती क्याम्पसलाई आंगिक बनाएपछि सुदुरपश्चिमको शिक्षामा ठुलो सरकारी लगानी भित्रीने छ भने गरिवका छोराछोरीले पनि पहाडका जिल्लामा पनि सर्वसुलभ रुपमा उच्च शिक्षा पाउने छन् । तर ति क्याम्पसको पढाईको गुणस्तर बढाउनका लागी शिक्षामा विद्यमान राजनीतीक हस्तक्षेप हटाउदै व्यवस्थापन चुस्त बनाउन भने आवश्यक छ ।