सुतिरहेकै अवस्थामा होटलमा काम गर्ने दिदीबहिनीको मृत्यु

१२ मंसिर २०७५, बुधबार ०९:०३

ओखलढुंगा

सोलुखुम्बु पासाङल्हामु गाउँपालिका–२ लुक्लामा रहेको होटल एभरेष्टमा दुई दिदी बहिनी सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेका छन्। होटलमा काम गर्दै आएकी–१६ वर्षीया संगना राई र होटेलमै बसेर अध्ययन गर्दै आएकी उनकी–९ वर्षीया बहिनी खुसी राई सुतेकै अवस्थामा मंगलबार मृत भेटिएका हुन्।

महाकुलुङ गाउँपालिका वडा–३, छेस्कामका दिदीबहिनी मध्ये संगना ५ वर्ष तथा खुसी विगत एक वर्षदेखि होटेलमा बस्दै आएका थिए। बेलुका काम सकेर सुतेका उनीहरु बिहान अबेरसम्म पनि नउठेपछि ढोका खोलेर हेर्दा मृत अवस्थामा भेटिएको सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी टुक्ति शेर्पाले बताए।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मासहितको टोली घटनास्थल पुगी  अनुसन्धान थालेकोे छ। पोष्टमार्टमका लागि शव हेलिकप्टरमार्फत जिल्ला अस्पताल फाप्लुमा ल्याइएको छ। सोमबार राति खाना खाएर होटलको सबै काम सकेपछि दिदीबहिनी सँगै सुत्न गएका थिए। आइतबारदेखि लुक्लाबजार क्षेत्रमा विद्युत पनि थिएन। उनीहरु सुत्ने कोठासँगै जोडिएको अर्को कोठामा जेनेरेटर चलाइएको थियो।

सकुशल सुत्न गएका दिदीबहिनी बिहान अबेरसम्म नउठेपछि घरबेटी उनीहरुलाई उठाउन कोठामा गएका थिए। उनले ढोका ढक्ढकाए पनि भित्रबाट चुक्कुल लगाइएको थियो।  दिदीबहिनी मृत अवस्थामा देखेपछि घरबेटीले प्रहरीलाई खबर गरेका थिए। स्थानीयका अनुसार दिदीबहिनीको मृत्युमा सुत्नेकोठसँगै जेनेरेटर चलाइएकाले अक्सिजनको कमी भएको वा फुडप्वाइजन भएर मृत्यु भएको आशंका गरिएको छ।मृत्युको कारण भने पोष्टमार्टमबाट मात्रै खुल्ने प्रहरीले जनाएको छ। यो खबर आजको अन्नपुर्ण पोष्टको दैनीकमा छ ।