सी जिनपिङको नेपाल भ्रमण ऐतिहासिक हुने कुरामा हामी विश्वस्त छौंः अध्यक्ष प्रचण्ड

२४ आश्विन २०७६, शुक्रबार १६:२१

चितवन , नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमण सरकारको उपलब्धिका रुपमा रहेको बताउनु भएको छ ।

चितवनको माडीमा शुक्रबार आयोजित कम्युनिस्ट नेता दिवाकर भुषालको १६ औं स्मृति दिवस तथा स्मृति ग्रन्थ विमोचन समारोहमा उहाँले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण सरकारको उपलब्धि भएको बताउनु भयो ।

‘चिनियाँ राष्ट्रपति सि जिनपिङको यो भ्रमणले नेपालका लागि दूरगामी महत्व राख्छ’ उहाँले भन्नु भयो, ‘बाटो, उद्योग, औद्योगिक पार्क बनाउने सन्दर्भमा चीनसँग सम्झौता हुँदैछ । यो भ्रमण ऐतिहासिक हुने कुरामा हामी विश्वस्त छौं । २३ वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपाल भ्रमण हुँदैछ । २३ वर्षमा राजनीतिमा धेरै ठूलो परिवर्तन भएको छ । निरंकुश राजतन्त्रलाई बिदा गरिएको छ । मुलुक समाजवाद उन्मुख अवस्थामा छ ।’

चीनमा सि जिनपिङको नेतृत्वमा त्यहाँको सरकारले जनताको पक्षमा अभूतपूर्व विकास गरेर संसारकै दोस्रो ठूलो आर्थिक शक्तिको रुपमा आफूलाई उभ्याएको अध्यक्ष प्रचण्डको भनाइ थियो ।