सीरियाको राहत क्याम्पमा महिलाहरुको यौन शोषण, एकछाक भोजन उपलब्ध गराए वापत यौन प्यास मेट्ने

१६ फाल्गुन २०७४, बुधबार ०७:११

फागुन १६, काठमाडौं । बीबीसी

सीरियाको राहत क्याम्पमा महिलाहरुको यौन शोषण भएको छ । बीबीसीको एक रिपोर्टअनुसार संयुक्त राष्ट्रसंघ एवं अन्तर्राष्ट्रिय विभिन्न संगठनको सहयोगमा राहत बाँड्न पुगेका पुरुष राहतकर्मीले महिलाहरुलाई यौन शोषण गरेका छन् ।

राहतकर्मीहरुले एकछाक भोजन उपलब्ध गराए वापत यौन प्यास मेट्ने गरेको समाचारमा उल्लेख छ । देशको दक्षिण भागमा यो समस्या ब्यापक छ ।

स्वम् राहतकर्मीले बीबीसीलाई दिएको जानकारीअनुसार महिलामाथीको यौन शोषण डरलाग्दो रुपमा भइरहेको छ । जसको कारण सिरियाली महिलाहरु राहत वितरण केन्द्रमा जान मानिरहेका छैनन् ।

एक राहतकर्मी दावी गर्दै भन्छन्, ‘केही मानवतावादी एजेन्सीले घटनालाई देखे पनि नदेखेजस्तो गरिरहेका छन् ।’

संयुक्त राष्ट्र संघ जनसंख्या कोषको मूल्याङ्कनमा यो पनि उल्लेख छ । मद्दत सामग्री दिने बहानामा महिलाको यौन शोषण भएको छ । संगठनले यो मूल्याङ्कन गएको वर्ष सिरियाको विभिन्न स्थानमा गरेको थियो ।

  • रिपोर्टअनुसार राहतकर्मीहरुको निशानामा एकल महिला

भ्वाइस फ्रम सीरिया २०१८ नामको यस रिपोर्टमा लैंगिक हिंसाको विश्लेषण गरिएको छ । जुन रिपोर्टमा भनिएको छ, ‘महिला एवं युवतिहरुले अधिकारीहरुसँग केही समयका लागि बिहे गरेका छन् । उनीहरुको विवाहको उद्देश्य हुन्छ पेटभरि खान पाइयोस् । त्यसको बदलामा अधिकारीहरु यौन प्यास मेट्छन् ।’

रिपोर्टमा उल्लेख भएअनुसार राहतकर्मीहरु महिलाको फोन नम्बर माग्छन् र घरमै पुग्छन् । पति गुमाएका एकल महिला र सम्बन्ध बिच्छेद भएका महिलाहरु उनीहरुको निशानामा पर्ने गरेका छन् ।

यस किसिमको घटना तीन वर्ष पहिला पनि सार्वजनिक भएको थियो । तर, फेरि पछिल्लो रिपोर्ट बाहिर आएको छ ।

सहयोगी संस्थाका लागि सल्लाहकारको काम गरिरहेको डेेनिएल स्पेन्सरले २०१५ मा जोर्डनका केही सीरियाली महिला समूहले यस विषयमा गुनासो गरेको उल्लेख छ ।

सहयोगी संस्थाले भनेका छन्, ‘ति पुरुषहरु राहत सामग्री तबसम्म रोकेर राख्छन् जबसम्म महिलाहरु यौनकार्यका लागि तयार हुँदैनन् । एक महिला आफ्नो कोठामा निकै रोएकी थिइन्, सुन्दा निकै नरमाइलो लाग्यो ।’

त्यसो त महिलालाई राहत उपलब्ध गराउदा सहयोग उपलब्ध गराउनुपर्ने पनि उल्लेख छ ।

  • ४० प्रतिशत महिला यौन शिकार

द इन्टरनेशन रेस्क्यु कमिटीले यस किसिमको सर्भे जुन २०१५ मा सार्वजनिक गरेको थियो जहाँ १९० महिला एवं युवति सहभागी थिए । रिपोर्टमा उल्लेख भएअनुसार ४० प्रतिशत महिलाले यौन हिंसाको शिकार भएको बताएका छन् ।

कमिटीका प्रवक्ताले भनेका छन्, ‘सर्भेको निष्कर्षअनुसार दक्षिण सिरियामा यौन हिंसा व्यापक चिन्ताको विषय बनेको छ । जहाँ राहत सामग्रीको बदलामा यौन शोषण गरिन्छ ।’

बीबीसीले यस रिपोर्टलाई १५ जुलाई २०१५ को संयुक्त राष्ट्र संघ जनसंख्या कोषको बैठकमा पेश गरेको थियो । जोर्डनको राजधानी अम्मानमा भएको यस बैठकमा संयुक्त राष्ट्र एवं अन्तराष्ट्रिय संगठनले सहभागीता जनाएका थिए ।

  • सुरक्षाका लागि अब केही नयाँ कार्यक्रम सुरु हुने

द इन्टरनेशनल रेस्क्यु कमिटीका प्रवक्ताका अनुसार दक्षिणी सिरियामा महिला एवं युवतिको सुरक्षाका लागि अब केही नयाँ कार्यक्रम सुरु हुने छ ।

केयर संस्थाले सीरियाको निगरानी टिम विस्तार गर्नुको साथै राहत सामग्री स्थानीय एजेन्सीलाई दिन बन्द गरेको छ । राहत दिने यस्ता संस्थाहरु भने मौन रहने गरेका छन् ।

२०१५ मा संयुक्त राष्ट्र जनसंख्या कोषको बैठकमा यो रिपोर्ट पेश गरिएको थियो । तर, संयुक्त राष्ट्रसंघले भने कुनै कारवाही गरेन ।