सीमा सुरक्षा सशक्त बनाउँदै सरकारः थप बीओपी राख्ने तयारी

२७ कार्तिक २०७६, बुधबार १०:०९

काठमाडौं, सरकारले भारत र चीनसँग सीमाना जोडिएका स्थानको सुरक्षालाई सशक्त बनाउने गरी थप बोर्डर अब्जर्भर पोस्ट (बीओपी) राख्ने गरी सघन तयारी अघि बढाएको छ ।

चीनसँगको सीमा क्षेत्रमा समेत सरकारले पहिलोपटक स्थायी बीओपी राखेर सीमा सुरक्षालाई बलियो बनाउनेगरी तयारी गरेको हो । भारतले नेपाली भूमि लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेलगत्तै सीमा सुरक्षाका विषयमा राष्ट्रिय एकता बनेको सरकारले बताउँदै आएको छ ।

गृहमन्त्री रामबहादुर थापाले सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नै सीमा सुरक्षामा राष्ट्रिय एकता बनेको र सीमा सुरक्षाका लागि थप बीओपी सञ्चालन गर्न लागिएको बताएका थिए ।

सरकारले भारत र चीनसँग जोडिएका थप १ सय स्थानमा सशस्त्र प्रहरीकोे प्रस्तावमा थप बीओपी राख्ने गरी तयारी गरेको हो ।

गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता केदारनाथ शर्माले भारत र चीनसँगका सीमा क्षेत्रमा १ सयभन्दा बढी बोर्डर अब्जर्भर पोस्ट (बीओपी) थप गर्नेगरी नीतिगत तयारी अघि बढिसकेको बताए ।

‘सीमा क्षेत्रमा सयभन्दा बढी बोर्डर अब्जर्भर पोस्ट (बीओपी) थप गर्नेगरी नीतिगत तयारी अघि बढिसकेको छ, जनशक्ति व्यवस्थापनका विषयमा थप परामर्श हुँदै छ,’ गृह प्रवक्ता शर्माले भने ।

शर्माले सशस्त्र प्रहरीमा नयाँ जनशक्ति पदपूर्ति गरेर जनशक्ति व्यवस्थापन गर्न तत्काल सम्भव नभएका कारण थप बीओपीमा खटाइने जनशक्तिलाई भन्सार, गण, गुल्म, बाहिनी तथा हेडक्वार्टरमा खटाइएका मध्येबाट कटौती गरेर व्यवस्थापन गर्नेगरी छलफल भइरहेको जनाए ।

हाल भारतसँगको सीमातर्फ नेपाली सीमाको सुरक्षा गर्न सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा १०७ वटा बीओपी सञ्चालनमा छन् । प्रत्येक बीओपीमा ३५ जनाको समूहमा टोली खटाइएको छ ।

सशस्त्र प्रहरीको एक बीओपीबाट अर्को बीओपीको दूरी १८ देखि २० किलोमिटरमा छ । नेपालको भारतसँग करिब १ हजार ८८० र चीनसँग १ हजार ४१४ किमि सीमा जोडिएको छ ।

सबै बीओपीमा गरी सशस्त्र प्रहरीको ३ हजार ७४५ जना सीमा सुरक्षामा खटिएका छन् । हाल सशस्त्र प्रहरीको कुल दरबन्दी ३७ हजार ११७ छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।