सिमामा छेकबार भए पुन नाकावन्दी गछौँ : सांसद प्रदिप यादव

४ भाद्र २०७५, सोमबार १४:५०

भदौ ४, काठमाडौं ।

प्रवुद्ध समूहको प्रतिवेदनमा नेपाल भारत दुई देश बिचको सिमामा तारवार लगाउने प्रस्ताव गरेको छ । उक्त प्रस्तावको विरोध गर्दै संघीय समाजवादी फोरमका संसद प्रदिप यादवले छेकबार गरिए नाकाबन्दी गर्ने बताएका छन् ।

नेपाल भारतबीच सदियौंदेखि रहदै आएको रोटी बेटीको सम्बन्धलाई असर पार्ने गरी प्रतिवेदन आउन लागेको भन्दै उनले आपत्ती जनाएका हुन् । नेपाल भारत मैत्री चिकित्सा शिविर कार्यक्रम अन्र्तगत वीरगञ्जमा आज आयोजित निःशुल्क मधुमेह स्वास्थ्य परीक्षण शिविरको उद्घाटन गर्दै सांसद यादवले सदियौंदेखिको रोटी बेटीको सम्बन्ध विगार्ने षडयन्त्र भइरहेको बताए ।

सीमाको रक्षा मधेसी जनताले नै गरिरहेको बताउँदै मधेसी जनतालाई नै आघात पार्ने काम गर्न नहुने उनको भनाइ छ । ‘अहिले पनि कतिपयको ससुराली, मामाघर उता छ, यताका छोरी चेली उता विवाह गरेर गएका छन् । यहाँ तारबार र पासपोर्ट लगाउँदा यो सबै बन्द हुन्छ’ सांसद यादवले भने ‘यो सम्बन्धलाई बन्द गर्न खोजिएको छ । यो कदापी हुन दिदैनौं ।’

यादवले संसदमा आवाज उठाउने मात्रै नभएर आवश्यक परेको खण्डमा नाकाबन्दी समेत गर्न सक्ने चेतावनी दिए ।

उक्त कार्यक्रममा प्रदेश सभासद राजेश्वरप्रसाद साह तेली, वीरगञ्ज नागर प्रमुख विजयकुमार सरावगी लगायतले पछिल्लो समयमा मधुमेह महामारी जस्तै फैलिएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।