सिप्रदीलाई बिजनेस एक्सिलेन्स अवार्ड

३० कार्तिक २०७४, बिहीबार ०१:५१

कात्तिक ३०, काठमाडौ । नेपालका लागि टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले यस वर्षको नेपाल बिजनेस एक्सिलेन्स अवार्ड पाएको छ । नेपाल उद्योग परिसंघ र फ्रोस्र्ट एण्ड सुलिभानको संयुक्त आयोजनामा पहिलोपटक भएको एक्सिलेन्स अवार्ड सिप्रदीसहित नेपाल एसबिआई बैक, विजय डिस्टिलरी, मेगा बैंक, सिजी ब्रुअरी, घोराही सिमेन्ट, अल्फाविटा, चन्द्रागिरी हिल्स, एनआईबीएल क्यापिटल, एमएमबी बैंक र टेलिटक प्रालीले जितेका छन् ।

नेपालका उद्योग व्यवसायले आफ्नो व्यवसाय सञ्चालन गर्दा लागत न्यूनीकरण, गुणस्तर सुधार, उपभोक्ताको सन्तुष्टी, जनस्वास्थ्य र प्रतिस्पर्धात्मक क्षमता बढाउन निर्वाह गरेको भूमिकाको आधारमा उत्कृष्ट ठहरिएका व्यावसायिक संस्थालाई अवार्ड प्रदान गरिएको परिसंघ अध्यक्ष हरिभक्त शर्माले जानकारी दिए । अवार्डमा सरिक भएका उद्योगको व्यवसायिक योजना, रणनीति तर्जुमा र त्यसको कार्यान्वयन, सांगठनिक ढाँचा, व्यवस्थापकीय प्रक्रिया र व्यावसायिक नतिजाको विश्लेषण गरी अवार्डको घोषणा गरिएको हो । उत्पादन समूह, व्यापारिक, हवाई यातायात, दूरसञ्चार, सूचना प्रविधि, होटल, बैकिङ, इन्स्योरेन्स र शैक्षिक परामर्शदाता गरी नौ समूहका कम्पनीहरुको अवार्डमा प्रतिस्पर्धा थियो । सहभागी कम्पनीलाई प्रतिस्पर्धामा सरिक गराउँदा उनीहरुको ‘सेल्स टर्नओभर’लाई आधार मानी उदीयमान व्यवसाय, मध्यमस्तरीय, ठूला र मेगा व्यवसाय गरी चार श्रेणीमा वर्गीकरण गरिएको थियो ।

“विभिन्न समयमा मुलुकमा ठूलठूला राजनैतिक परिवर्तन भएपनि औद्योगिकीकरण र समृद्धिका लागि ठोस काम हुन नसकेको सन्दर्भमा यस प्रकारको सृजनात्मक कामले लगानीमैत्री वातावरण निर्माण गर्न, निजी क्षेत्रका उद्यमीहरुबीच स्वस्थ्य प्रतिस्पर्धाको विकास गर्न र कर्पोरेट कल्चरको सुदृढीकरण गर्न सहयोग पुग्ने हाम्रो अपेक्षा छ,” अध्यक्ष शर्माले भने ।

कार्यक्रममा अर्थ मन्त्रालयका राजस्वसचिव शिशिरकुमार ढुंगानाले व्यावसायिक वातावरणका लागि नीतिगत रुपमा सुधार भएको भन्दै अझ सुधार हुने क्रम रहेकोले विश्व प्रतिस्पर्धामा नेपाली कम्पनीहरु पनि सक्षम हुँदै गएको बताए । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले लगानी गर्न गरेको इच्छा र प्रत्यक्ष विदेशी लगानी (एफडीआई) बढ्नुले पनि नेपालमा व्यवसायिक वातावरण सबल बन्दै गएको उनको अनुभव छ । प्रधानमन्त्री कार्यालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले नेपाली व्यवसायीहरुको प्रतिस्पर्धात्मक क्षमता सन् २०२२ सम्ममा अन्र्तराष्ट्रिय स्तरको हुनका लागि गुरु योजना सहित जानुपर्ने बताए । यस्तै, फ्रोस्र्ट एण्ड सुलिभानका ग्लोबल प्रेसिडेन्ट तथा म्यानेजिङ पार्टनर अरुप जुत्सीले यस किसिमको अवार्डले सीप विकास, उत्पादत्व वृद्धि, पूर्वाधार विस्तार लगायतकामा विकास हुने बताए । फ्रोस्र्ट एण्ड सुलिभान अन्तर्राष्टिय स्तरको आर्थिक एवं प्राविधिक क्षेत्रको परामर्शदाता संस्था हो

सुपरप्लाटिनम
सिपर्दी टेड्रिङ

सुपरप्लाटिनम फस्र्ट रनरअप
नेपाल एसबिआई बैंक

प्लाटिनम अवार्ड
अल्फा बिटा
चन्द्रागिरी हिल्स
एनआईबिएल क्यापिटल
एमएमबी बैंक
टेलिटक

गोल्ड अवार्ड
विजय डिस्टिलरी
मेगा बैंक

सिल्भर अवार्ड
सिजी ब्रुअरी
घोराही सिमेन्ट

 

–कारोबार दैनिकबाट