सिन्धुपाल्चोकलाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने तयारी

२५ चैत्र २०७४, आईतवार १०:०९

चैत २५, काठमाडौं ।

जिल्लालाई खुला दिसामुक्त बनाइने भएको छ । ०७२ जेठ पहिलो साता खुला दिसामुक्त जिल्ला घोषणा गर्ने तयारी भूकम्पले प्रभावित भएपछि पुनः अभियान सञ्चालन गर्न लागिएको हो ।

औपचारिक रुपमा केन्दीय निकायबाट खुला दिसामुक्त बनाउने अभियानका लागि कुनै ताकेता नआए पनि जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिले असार मसान्तसम्ममा सिन्धुपाल्चोकलाई खुला दिसामुक्त बनाउने तयारी गरेको जानकारी दिएको छ ।

सन् २००१ म सिन्धुपाल्चोकमा यो अभियान सुरु भएको थियो । २०१७ मा दिसामुक्त जिल्ला घोषणा गर्ने अभियानका साथ जिल्लामा सबै क्षेत्रबाट अभियान प्रभाविकारी रुपमा सञ्चालन गरिएको थियो ।

खुला दिसामुक्त अभियानसँगै सरसफाइ र स्वच्छ खानेपानी अभियान पनि सँगै सञ्चालन गरिएको थियो । तत्कालीन जिल्ला विकास समिति, खानेपानी तथा सरसफाइ कार्यालय र सिन्धुपाल्चोकमा कार्यरत जनहित ग्रामीण सेवा समिति, टुकी संघ सुनकोशी र सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च प्रत्यक्ष रुपमा यो अभियानमा सहभागी थिए ।

‘अन्तिम तयारी भइरहेका बेला भूकम्पले अभियान रोकियो, हामी पुनः जिल्लालाई खुला दिसामुक्त बनाउने अभियानमा छौं’, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख इञ्जिनियर लक्ष्मीप्रसाद उपाध्यायले भने ।

पुनर्निर्माण प्राधिकरणले घर निर्माण गर्दा शौचालय अनिवार्य गरेपछि अभियानलाई थप सहयोग पुगेको अनुभव जिल्लालाई खुला दिसामुक्त बनाउन सक्रिय जनहित ग्रामीण सेवा समितिका कार्यक्रम संयोजक राजेन्द्र शर्माको छ ।

अस्थायी टहरोमा बास भए पनि पक्की शौचालय

भूकम्पपछि अहिले पनि जिल्लाका धेरै भूकम्पपीडितहरु अस्थायी टहरोमा बसिरहेका छन् । बसाइ टहरोमा भए पनि अधिकांश पीडितहरुले शौचालय भने पक्की बनाएका छन् ।

साविकको पाङताङ, हगाम, बराम्चीलगायतका गाविसमा खुला दिसामुक्त वडा घोषणा भइसकेको छ । धेरैले घर पुनर्निर्माणलाई जारी राखेका छन् तर शौचालय भने पहिले नै बनाइसकेका छन् ।