साहित्यकार श्रीराम श्रेष्ठका तीन कृति सार्वजनिक

१६ आश्विन २०७७, शुक्रबार १५:४७


काठमाडौं , साहित्यकार श्रीराम श्रेष्ठद्वारा जापानी शैलीमा लेखिएका तीनवटा साहित्यिक कृतिहरु डोब, लकडाउन र नाङ्गो सपना विमोचन गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमबीच शिक्षा सचिव एवं साहित्यकार गोपिनाथ मैनाली, वरिष्ठ साहित्यकार पुष्कर लोहनी, साहित्यकार लव गाउँले र बाल्मिकी क्याम्पसका उपप्राध्यापक टेकनाथ दाहालले संयुक्त रुपमा कृतिको बिमोचन गर्नु भयो ।

जापानी साहित्यमा प्रचलित शैलीहरु डोडोइट्सु डोबमा, बुसोकुसेकिका नाङ्गो सपनामा र सेडोका लकडाउन नामक कृतिमा प्रस्तुत गरिएको छ ।
विमोचित कृतिका विषयमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गोपिनाथ मैनालीले कृतिहरु नेपाली साहित्यमा जापानी शैलीको नौलो प्रस्तुती रहेको उल्लेख गर्नु भयो । जापानी शैलीका कविताहरु र जापानी जीवनशैलीबारे उहाँले चर्चा गर्नु भयो । यसैगरी समालोचक टेकनाथ दाहालले कृतिमा समसामयिक चेतना तथा लेखकीय अनुभूतिको राम्रो प्रस्तुती रहेको उल्लेख गर्नु भयो । यस्तै वरिष्ठ साहित्यकार पुष्कर लोहनीले जापानी शैलीका कविताका सैद्धान्तिक पक्षका बारेमा चर्चा गर्नु भएको थियो । यस्तै कृतिकार श्रीराम श्रेष्ठले कृतिका रचनागर्भका बारेमा आफ्ना भनाइ राखनु भयो । कार्यक्रम साहित्यकार लव गाउँलेले सञ्चालन गर्नु भएको थियो ।