साताको ५० मिनेट मात्र दौडिए पनि बढ्छ आयु

२५ कार्तिक २०७६, सोमबार ११:०८

दौडिन कुनै उपकरण चाहिँदैन। झन् प्राकृतिक सुन्दरता भएको ठाउँमा दौडिन पाए त सुनमा सुगन्ध। दौडले शरीर ‘फिट’ राख्न मद्दत गर्छ भन्ने त हामीले बुझेकै छौं। तर दौडिनुको फाइदा यति मात्र होइन। ‘द कन्भरसेसन’ ले निकालेको ‘ब्रिटिस जर्नल अफ स्पोर्ट मेडिसिन’ मा दौडिने मान्छेको आयु नदौडिनेको भन्दा धेरै हुने उल्लेख छ।

उक्त जर्नलअनुसार दौडले स्वास्थ्यमा उल्लेखनीय सुधार ल्याउनुका साथै मृत्युको जोखिम कम गर्न सक्छ। जर्नलका १४ अध्येताको व्यक्तिगत अध्ययनले दौड र मानिसको औसत आयु तथा मृत्युको जोखिमबीच सम्बन्ध देखाएको छ। दौडिने मान्छेमा मृत्युको जोखिम नदौडिनेभन्दा २७ प्रतिशत कम हुने जर्नलमा उल्लेख छ।

विशेषगरी दौडिने मान्छेमा मुटुको जोखिम ३० प्रतिशत र क्यान्सरबाट मृत्यु हुने जोखिम २३ प्रतिशत कम हुने अध्ययनले देखाएको छ।

विगतका केही अध्ययनमा दौडले मोटोपन, उच्च रक्तचाप, उच्च कोलस्ट्रोल, अशक्तता, मधुमेह, मुटु रोग र क्यान्सरजस्ता रोगको जोखिम कम गर्ने पुष्टि भइसकेको छ। यसले धेरै श्वासप्रश्वास हुने शारीरिक क्रियाकलाप, मुटुको चालचलन तथा सन्तुलन र मेटाबोलिजम सुधार्छ। यी सबै हाम्रो राम्रो स्वास्थ्य स्थितिका महत्त्वपूर्ण पक्ष हुन्।

हामीले पहिल्यैदेखि जति धेरै दौडियो उति राम्रो भन्ने सुन्दै आएका हौं। हालको यो अध्ययनले भने बढी वा धेरै दुरी दौडिनुनपर्ने विषय पनि उठान गरेको छ।

अध्ययनका अनुसार हामीले साताको ५० मिनेट मात्र दौडिँदा पनि मृत्यु जोखिम कम गर्न सक्छौं। अर्थात्, तपाईं स्वस्थ रहन चाहनुहुन्छ र आफ्नो आयु लामो होस् भन्ने सोचेर दौडिन खोज्नुभएको छ आफ्नो क्षमताभन्दा बढी बल लगाएर धेरै दौडिनुपर्छ भन्ने छैन। साताको एकपटक ५० मिनेटसम्म दौडेर पनि तपाईं आफूले चाहेको फाइदा लिन सक्नुहुन्छ।

यसको अर्थ धेरै दौडिन सक्ने वा चाहनेले एकाएक थोरै दौडिनुस् भन्ने होइन। आफूलाई जुन गतिमा जति सहज हुन्छ, त्यही हिसाबमा दौडिँदा हुन्छ।

यो अध्ययनको विशेष फाइदा भनेको, व्यस्त र धेरै दौडिन जाँगर नआउनेका लागि सातामा एकपटक ५० मिनेट दौडिए काफी छ भन्ने हो। दिनै दौडिने र साताको एकपटक ५० मिनेट दौडिनेको मृत्यु जोखिम उत्तिकै कम हुन्छ।

अध्ययनले अर्को कुरामा पनि जोड दिएको छ– तीव्र गतिमा दौडिनु र विस्तारै दौडिनुका फाइदामा खास फरक छैन। आठ किलोमिटर प्रतिघन्टा र १३ किलोमिटर प्रतिघन्टा रफ्तारको दौडाइले स्वास्थ्यमा कुनै अलग प्रभाव नपार्ने हुँदा आफ्नै सहज गतिमा दौडिन अध्ययनले सुझाएको छ।

यति फाइदाका बाबजुद दौडका केही सम्भावित जोखिम भने छन्, जसबारे थाहा पाइराख्नु राम्रो। कहिलेकाहीँ दौडिँदै गरेको मान्छेको अचानक मृत्यु भएको हामीले सुनेका छौं। यसमा उनीहरूको शरीरमा भएका अन्य समस्याले बढी प्रभाव पारेको हुन्छ।

कहिलेकाहीँ लडेर चोटपटक पनि लाग्न सक्छ। खुट्टा बाउँडिन वा मर्किन सक्छ। त्यसैले सजिला जुत्ता लगाएर मात्र दौडनुस्। अनि दौडिने ठाउँ सकेसम्म चउर रोज्नुहोस्। कालोपत्रे वा उबडखाबड सतहमा लडियो भने चोट धेरै लाग्न सक्छ।

बानी छैन भने पहिलोपटकमै धेरै बेर नदौडिनुस्। थोरै थोरै गरेर विस्तारै बानी बसाल्ने र साताको ५० मिनेट वा शरीरले सकेसम्म मात्र आफ्नो गति लिँदै दौडिनुपर्छ।

एक्लै मन नभए पार्क वा अरू ठाउँमा साथी बनाएर सँगै दौडिनुस्। समूहमा दौडिँदा राम्रो सामाजिक सम्बन्ध कायम गर्न सकिन्छ।

दौडमा तपाईंको रूचि नै छैन भने, अरू खेल रोज्नुहोस्। शारीरिक व्यायाम र एरोबिक्स, साइक्लिङ, स्विमिङ, ब्याडमिन्टन, लन टेनिस लगायत खेल स्वास्थ्यका लागि फाइदाजनक हुन्छन्।
सेतोपाटीबाट साभार