साउदीमा दुर्घटनामा परी नेपालीको मृत्यु

१६ आश्विन २०७४, सोमबार ०४:००

१६ असोज, कञ्चनपुर । कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१२ मघरघटैया मुक्त कमैया शिविरका वीरबहादुर रानाको साउदी अरबमा दुर्घटनामा परी मृत्यु भएको छ ।

साउदी अरेबियाको माहिल भन्ने स्थानमा सवारी दुर्घटनामा परी रानाको शनिबार बिहान मृत्यु भएको हो । राना एक वर्षअघि देखि साउदी अरेबियामा सवारी चालकका रुपमा काम गर्दै आएको नगरपालिका–१२ का वडाध्यक्ष वाले रानाले बताए । “घरको कमाउने एक्लो व्यक्तिको मृत्यु भएपछि परिवार शोकमा डुबेको छ”, उनले भने ।

वीरबहादुरसँगै काम गर्दै आएका नेपालीले उनको घरमा दुर्घटनामा परी मृत्यु भएको जानकारी दिएको अध्यक्ष रानाले बताए । मृतकका आमा, बुबा, श्रीमती, नाबालक छोरा र दुईजना छोरी छन् । उनीहरू सबै उनकै कमाइले गुजारा गरिरहेका थिए । मृतकको शव स्वदेश ल्याउने पहल गरिरहेको अध्यक्ष रानाले बताएका छन् । (रासस)